बिराटनगर, साउन २३ । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो दिउँसो सुनसरीको अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-१७ का २७ बर्षीय जित बहादुर बुढाथोकीलाई प्रतिबन्धित औषधी ७२० क्यापसुल र ८४० ट्याब्लेट सहित पक्राउ गरेको छ ।
त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले चेकजाँचको क्रममा बिर्तामोड नगरपालिका १ का २३ बर्षीय भुपेन्द्र सिंह राजवंशी र १९ बर्षीय आशिका नेम्वाङ लिम्बुलाई ५६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसैगरी मोरङको अस्थायी प्रहरी पोष्ट मटेरुवाले चेकजाँचको क्रममा प्र.१-०२-०४८-प९५०७ नम्बरको मोटरसाईकलमा सवार रहेका बिराटनगर ४ का २० बर्षीय पाञ्जोल घिमिरे र बिर्तामोड झापाका ३५ वर्षिय सरोज बुढाथोकीलाई ४९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
त्यस्तैगरी इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे ४ का ३० बर्षीय हिमाल खतिवडा र ३७ वर्षिय नर बहादुर दाहालललाई ४८० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।