वीरगञ्ज, २३ श्रावण । नेपालमा प्रतिबन्ध लगाइएको भारतीय रुपैयाँसहित पर्सा प्रहरीले एक भारतीय व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
सोमबार राती प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले वीरगञ्ज-१६ रजतजयन्ती चोकबाट ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्ने व्यक्ति भारतको पूर्वी चम्पारण बिहार जिल्ला मोतिहारी घोडासाहन घर बताउने अन्दाजी २९ वर्षको अनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दिपक भारतीले बताए ।
उनले भने, ‘पाइन्टको खल्तीमा भारू ५०० का ४३८ वटा नोट पाइएपछि नियन्त्रणमा लिइएको हो ।’
भारतीय सीमावर्ती बजार रक्सौलबाट आउँदै गरेका ती व्यक्तीको साथबाट भारतीय नोट ५०० का ४३८ थान अर्थात् भारतीय रुपैयाँ दुई लाख १९ हजार बरामद भएको हो ।
प्रतिवन्धित नोटसँगै पक्राउ परेका ती भारतीय नागरिकलाई आवश्यक कारबाहीको लागि मंगलबार वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ ।
नेपालमा भारू १०० भन्दा ठूला दरका नोटहरू प्रतिवन्धित छन् । खुला सीमाना भएकाले सरसामान किनबेचका लागि बढीमा रु पच्चीस हजारको सीमा तोकिएको छ । त्योभन्दा बढी मात्रामा रकम पाइएमा थप कारबाहीको लागि भन्सार बुझाइने डिएसपी भारतीले बताए ।