काठमाडौं, श्रावण २२ । वैदेशिक रोजगारीको लागि विभिन्न मुलुक पठाउने भन्दै ८५ व्यक्तिहरूलाई ठगी गरेको आरोपमा प्रहरीले एक म्यानपावरका कर्मचारीलाई पक्राउ गरेको छ ।
काठमाडौंको बसुन्धारामा रहेको ओम इन्टरनेशनल प्रा.लिले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा दुबई, कतार, साउदी, मलेसिया र कुवेत लगायतका देशहरुमा पठाउने भन्दै ठगी गरेको पाइएको छ।
उक्त म्यानपावरका सञ्चालक रविन्द्र सापकोटा हुन् ।
८५ व्यक्तिहरूबाट रकम असुल्ने व्यक्ति सिराहा करजन्हा-०६ घर भई हाल ललितपुर महालक्ष्मी -४ बस्ने गुनेश कुमार ठाकुर रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । ठाकुरमाथि एक करोड ९७ लाख १७ हजार ठगी गरेको आरोप छ ।
म्यानपावर सञ्चालक सापकोटाले रकम ठगी गर्ने व्यक्ति आफ्नो कर्मचारी नभएको जिकिर गरे । केटिएम दैनिकसँगको टेलिफोन सम्पर्कमा सापकोटाले भने ‘उ हाम्रो कर्मचारी हैन । हाम्रो कम्पनीको नाम बेचेर रकम उठाएको रहेछ ।’
ठाकुरले बिभिन्न व्यक्तिहरुबाट रकम लिए पश्चात विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरुले वैदेशिक रोजगार विभागमा जाहेरी दरखास्त दिएका थिए ।
जाहेरीपश्चात विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्र लेख्दै ठाकुरलाई विभागमा उपस्थित गराउन भनेको थियो ।
विभागको पत्रपछि कार्यालयले ठाकुरलाई इमाडोलबाट सोमबार पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।
ठाकुरलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाइएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताए । उनले भने ‘सापकोटासँगको साझेदारीमा गुनेश कुमारले एक करोड ९७ लाख १७ हजार रुपैयाँ लिइ ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’
सच्चाइएको : यसअगाडि भूलबस अर्कै तस्बिरमा पर्न गएकोमा त्यसलाई सच्चाइएको छ । यसले पाठकलाई पर्न गएको भ्रमप्रति क्षमाप्राथि छौं । सम्पादक