
काठमाडौं, २२ श्रावण । विदेशमा बसेर नेपालमा रहेकी महिलाको फेसबुक ह्याक गर्ने एक व्यक्तिलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–१ स्थायी घर भएका वर्ष ३५ का सन्दीप थापामगर रहेका छन् ।
थापाले पीडितको फेसबुक ह्याक गरी उनको म्यासेञ्जरमा पीडित र उनका श्रीमानबीच भएका कुराकानी लगायत सामग्री सङ्कलनपश्चात् नक्कली एकाउन्ट बनाइ ती म्यासेज पीडितका आफन्तका म्यासेन्जरमा पठाएर साइबर अपराध गरेका आरोपमा अनुसन्धानको लागि पक्राउ परेका हुन्।
वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा रहेको समयमा थापामगर उक्त अपराध गरेको ब्युरोका उपनिर्देशक, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।
सामाजिक सञ्जालबाट पीडितका आफन्तलाई त्यस्ता सन्देश पठाई ब्ल्याकमेल गरी मानसिक तनाव, दुःख हैरानी दिइ समाजमा पीडितको चरित्र हत्या हुने कार्य गरेको भन्दै ब्युरोमा परेको निवेदनका आधारमा प्राविधिक अनुसन्धान र विश्लेषण पछि उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अवस्थीले बताए ।
उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्तागरी प्रहरी अनुसन्धानपश्चात् सजायको माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा मिसिल पेस भएको थियो ।
मुद्दा विचाराधीन रहेकै अवस्थामा वैदेशिक रोजगारीमा रहेका प्रतिवादी थापा स्वदेश फर्कने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको सहकार्यमा ब्युरोको टोलीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
उनलाई अदालती कारबाहीका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको ब्युरोले आज जारी गरेको सूचनामा उल्लेख छ ।