पर्सा, १९ साउन । बक्स पलङ्गभित्र लुकाएर राखेको आधा क्विन्टल गाँजा सहित पर्सा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ ।
बिहीबार राती ठोरी गाउँपालिका-२ सुन्दरबस्ती टोलमा बस्ने ३० वर्षकी अनिता गुरौको घरबाट प्रहरीले ५० केजी गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिए ।
आफ्नै घरमा लागु औषध गाँजा लुकाइ छिपाइ राखिएको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले खानतलासी गरेको थियो ।
ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा सुत्ने कोठामा रहेको बक्स पलङ्गभित्र पाँचवटा प्याकेटमा लुकाइएको ५० के.जी. गाँजा नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकी महिलाउपर लागुऔषध सम्बन्धी कसूरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको डिएसपी भारतीले जानकारी दिए ।
के हुन सक्छ कारबाही ?
नेपालको कानुनले गाँजाको खेती, उत्पादन, तयारी, खरिदविक्री वितरण, निकासी वा पैठारी, ओसारपसार वा सञ्चय गर्न र सेवन गर्न निषेध गरेको छ ।
लागूऔषध नियन्त्रण गर्न २०३३ सालमा बनेको ऐन र समयसमयमा संसोधन हुँदै आएको उक्त ऐनले गाँजाको परिमाण अनुसार विभिन्न कैद सजाय र जरिवाना तोकेको छ ।
उक्त ऐनका अनुसार १० किलो वा सोभन्दा बढी जतिसुकै मात्रामा गाँजा उत्पादन, तयार, खरिद, बिक्री वितरण, ओसार पसार तथा सञ्चय गर्ने व्यक्तिलाई दुई देखि १० वर्षसम्म कैद र पन्ध्र हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना तोकेको छ ।