नवलपरासी पूर्व, १५ साउन । ठूलो परिमाणको लागुऔषध गाँजा सहित भारतीय नम्बर प्लेटको कन्टेनर प्रहरीले बरामद गरेको छ ।
जिल्लाको देवचुली नगरपालिका-२ हमालचोकबाट लागूऔषध गाँजा ७ सय ६९ किलो ३१ ग्राम सहित एनएल ०१ ५५४४ नम्बरको भारतीय कन्टेर आईतबार नियन्त्रणमा लिएको हो ।
उक्त कन्टेनरका चालक चितवन राप्ती नगरपालिका-२ बस्ने २३ वर्षीय मदन लामालाई समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले एनएल ०१ ५५४४ नम्बरको कन्टेनर र सोही कन्टेनरलाई स्कट गर्दै आइरहेको बाग्मती प्रदेश ०१-०२६-च ५१५९ नम्बरको कारलाई आइतबार दिउँसो नियन्त्रणमा लिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
थप अनुसन्धानको क्रममा सोमबार दिउँसो ट्रकको सामान राख्ने स्थान र क्याबिनको बिच भागमा फल्सबटन बनाई कन्टेनरको भित्ता जस्तै गरी वेल्डिङ गरेको भागलाई काटी हेर्दा प्लाष्टिकले बेरी राखेको २४ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी कन्टेनरका चालक लामालाई पक्राउ गरेको हो ।
उक्त कन्टेर केही दिन अगाडी देखि चोरमारामा रहेको र मदन लामा र दिनेश लामाले कार लिएर मुग्लिङ देखि नारायणघाट, हेटौंडा र विरगंज सम्म उक्त कन्टेनर खोज्दै हिडेको उनिहरुले प्रयोग गरेको कारको जिपिएसले देखाएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
उक्त गाँजा बोकेको कन्टेनरको वास्तविक चालक चोरमारामा छोडेर भागे पछि खोज्ने क्रममा उक्त गाँजा बोकेको कन्टेनर सन्तोष र मदनले लिएर चितवन तर्फ जाँदै गर्दा उनीहरूलाई प्रहरीले देवचुलीको हमाल चोक बाट पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ गर्दा कन्टेनर मदन लामाले चलाउँदै गरेका थिए भने कारका चालक फरार रहेको प्रहरीले जनाएको छ ।
गाँजा कहाँबाट कसरी आयो र यसमा संलग्न व्यक्तिहरूको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ठूलो मात्रामा लागूऔषध फेला परेपछि यसमा ठूलै गिरोहका संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ ।
उपरीक्षक रेग्मीका अनुसार कन्टेनरका वास्तविक चालक र कारका चालकको खोजी भैरहेको छ भने पक्राउ परेका दुई जनालाई नवलपुर जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाईएको छ ।