![डलरको प्रलोभन देखाएर १८ लाख ठगी, तीन युवक पक्राउ](https://ktmdainik.com/wp-content/uploads/2024/05/DPO-Sindhuli.jpg)
सिन्धुली । डलर साट्ने प्रलोभन देखाई नगद १८ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सिन्धुली प्रहरीले तीन व्यक्तिलाई पक्राउ गरेको छ ।
गोलन्जोर गाउँपालिका-७ लौकुनमा इलामका ४४ वर्षीय राजु गौतमलाई अपरिचित व्यक्तिहरूले डलर साट्ने प्रलोभन देखाई गौतमको १८ लाख रूपैयाँ ठगी गरी २० रूपैयाँका नोटहरू तथा सादा कागजका टुक्राहरु दिई फरार भएका थिए ।
![](https://ktmdainik.com/wp-content/uploads/2024/05/Sindhuli-News-Photo-2.jpg)
उक्त कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले जिल्लाको बाह्रबिसे नगरपालिका-३ बस्ने २४ वर्षीय श्याम तामाङ, २६ वर्षका तेन्जेन पाईन र २७ वर्षका नारायण बहादुर पाइनलाई ठगी गरेको रकमसहित आइतबार साँझ पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय खुर्कोट र अस्थायी प्रहरी पोष्ट हैवारबेसीबाट खटिएको प्रहरीले उनीहरूलाई ठगी गरेको रकम १८ लाख रूपैयाँ, नेपाली रूपैयाँ २० दरको ६९ थान, अमेरिकी डलर १ दरको २ सय ३७ थान र उनीहरूले प्रयोग गरेको २ वटा मोटरसाइकलसहित पक्राउ गरेको सिन्धुली प्रहरी प्रवक्ता डिएसपी अनिल कुमार खड्काले जानकारी दिए ।
![](https://ktmdainik.com/wp-content/uploads/2024/05/Sindhuli-News-Photo-1.jpg)
डिएसपी खड्काका अनुसार बा.प्र.०२-०४४प ४३०९ नम्बरको बुलेट मोटरसाइकल र बा.प्र.०२-०४५प ६३०२ नम्बरको पल्सर मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका व्यक्तिउपर अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।