काठमाडौँ । आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदै छ ।
प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।
विश्व बौद्धिक सम्पदा संगठनको पहलमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघको विशिष्टिकृत निकायका रूपमा रहेको यो संस्थाले विश्वव्यापी बौद्धिक सम्पदा सेवा, नीति निर्माण, सूचना आदान–प्रदान तथा अन्तर्राष्ट्रिय सहकार्यलाई समन्वय गर्दै आएको छ ।
उक्त संस्थाले सरकार, व्यवसाय तथा स्रष्टाहरूलाई सीमा पार रूपमा बौद्धिक सम्पदाको संरक्षण र व्यवस्थापन गर्न सहयोग पुर्याउँदै विश्वभर नवप्रवर्तन र सिर्जनशीलता प्रवर्द्धनमा जोड दिँदै आएको छ ।
संगठनका अनुसार बौद्धिक सम्पदामा ‘कपीराइट, पेटेन्ट, ट्रेडमार्क’ र औद्योगिक ‘डिजाइन’लगायतका अधिकार समावेश छन्, जसले स्रष्टा, आविष्कारक तथा उद्यमीलाई आफ्नो सिर्जनाको संरक्षण र उपयोगको अधिकार प्रदान गरेको छ ।
यो दिवसले विशेषगरी नवप्रवर्तन, प्रविधि र सिर्जनशील क्षेत्रमार्फत आर्थिक तथा सामाजिक विकासमा बौद्धिक सम्पदाको भूमिकालाई उजागर गरेको छ । यसबाट कला, संगीत, साहित्य, प्रविधि तथा उद्योग क्षेत्रका स्रष्टा र नवप्रवर्तकहरूले बौद्धिक सम्पदामार्फत आफ्नो पहिचान स्थापित गर्नुका साथै आर्थिक लाभ लिन सक्ने अवस्था सृजना भएको छ ।
विशेषज्ञहरूका अनुसार ‘डिजिटल’ युगसँगै बौद्धिक सम्पदाको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । अनधिकृत प्रयोग, नक्कली उत्पादन र डिजिटल चोरीजस्ता समस्यालाई नियन्त्रण गर्न प्रभावकारी कानुनी व्यवस्था र जनचेतना आवश्यक रहेको उनीहरूको भनाइ छ ।
हाम्रो देशमा पनि बौद्धिक सम्पदासम्बन्धी कानुनी तथा नीतिगत सुधारको आवश्यकता औँल्याउँदै सरोकारभएकाहरूले स्रष्टा तथा नवप्रवर्गतकलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।