
जेनजी आन्दोलनमा सहिद हुनुभएका सम्पूर्ण नानी बाबुहरूमा हार्दिक श्रद्धाशुमन अर्पण गर्दै शोक सन्तप्त परिवार जनमा यो बज्रपातको पिडा सहने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने प्रार्थना गर्दछु। मेरो पुस्ताले गर्न नसकेको (गर्न न चाहेको?) काम गर्न सकेकोमा आन्दोलनमा उत्रिएका यो पुस्ताका सबै नवयुवाहरूलाई सलाम गर्दछु।
यो जेनजी आन्दोलनका दुई पाटा छन्, प्रथम भाद्र २३ को जेनजी आन्दोलन अनि भाद्र २४ को घुस पैठिया तत्त्वको विध्वंसको ताण्डव। यी दुई घटना चक्रलाई एकै ठाउँ राखेर हेर्न मिल्दैन। यस सन्दर्भमा मेरा केही विचार खुला रूपमा यहाँ प्रस्तुत छन्।
उत्कर्षमा पुगी सकेको भ्रष्टाचार र कुशासनको त कुरै छाडौँ, एउटा धुन्धुकारि हठी तानासाही प्रवृत्तिको चरम अहङ्कारी व्यक्ति र अर्को किस्तीमा सातौँ चोटि प्रधानमन्त्री खान लालायित दुइटाको गठबन्धन सरकार (जसको गठन हुनुमा म्याजिकल नम्बरवालाको बाँदर नाच पनि जिम्मेवार छ), यिनीहरूले गर्दा आज देशले यो दुर्दशा भोग्नु पर्यो, राष्ट्रिय धरोहर र राज्य सम्पत्ति विध्वंस भयो, अनि जन निर्वाचित सांसदमाथि नै अविश्वास गर्नु पर्ने सम्मको स्थिति आयो।
सम्झना गरौँ २०३६ सालको आन्दोलनको सुरुवात विद्यार्थी बाट नै भएको थियो तर यसमा विध्वंस कतै भएन, अर्को ४६ सालको आन्दोलन सम्पूर्ण राजनीतिक दल मिलेर गरियो यसमा पनि सार्वजनिक सम्पत्तिमा आँच आएन, ६२-६३ को १९ दिनको आन्दोलनले सार्वजनिक र निजी सम्पत्तिको कुनै ध्वंस भएन। यी आन्दोलनमा न पञ्चायत व्यवस्थाको सरकारले जनता मार्ने कोसिस गर्यो न आन्दोलनकारीले राष्ट्रका धरोहर मास्ने काम गरे।आज जे भनिए पनि माओवादीको आन्दोलनको मूल चरित्र हिंसा, यातना र विध्वंस नै रह्यो, १७००० निरपराधहरूको ज्यान गएको त छंदैछ, दुर्गमका जनता हिँड्ने झोलुङ्गे पुल एकै दिन १७ वटा सम्म ध्वस्त पारिएका थिए तर यो भाद्र २४ गते भएको विध्वंसको ताण्डवले माओवादी आन्दोलनले दस वर्षमा गरेको विध्वंस भन्दा सयौँ गुणा बढी सार्वजनिक धरोहर तथा संरचनाहरू र निजी सम्पत्तिको नोक्सान भयो, यसले मुलुक अर्को २० वर्ष पछाडि गयो।
सर्वोच्च अदालत लगायत आम जनसरोकारका सूचना र कागज पत्रहरू देश भरि जलाइए जसको भरपाई हुन असम्भव छ। यो पूर्वनियोजित र अति सङ्गठित विध्वंस जेनजीहरुको थिएन र हुन पनि सक्दैन, यसको पछाडि केही अराजक र अराष्ट्रिय शक्ति तथा बाह्य शक्ति जोडिएको छ जसले अग्र रूपमा जेनजी लाई सहयोग गरेजस्तो गरी उक्साएर पछाडिबाट घुसपैठ गरी आफ्नो अराजक र अराष्ट्रिय अभीष्ट पुरा गर्न सफल भएको छ। जेनजीहरु आफ्नो आन्दोलनले सोच्दै न सोचेको यस्तो कुरा कसरी भयो भन्ने बुझ्न सकिरहेका छैनन् र यो बुझ्ने र त्यसमा सहमत हुने मानसिकता र क्षमता पनि उनीहरूसँग छैन, अति असङ्गठित र परिपक्वता कम भएको यो समूह आफू अरू कसैको कुत्सित स्वार्थ पूर्तिको माध्यम भएको स्थितिको आकलन गर्न सकिरहेको छैन।
अब अन्तरिम सरकार र खास गरी अन्तरिम प्रधानमन्त्री शुशिला कार्कीले यो आन्दोलनमा भएको चरम र दानवीय दमन अनि सार्वजनिक र निजी सम्पत्तिको विध्वंसको ताण्डवको निष्पक्ष जाँच गराउनै पर्दछ। जेन जी हरुले तपाईँलाई यो स्थानमा ल्याएका हुन भन्ने सम्झेर उनीहरूमाथि तत्कालीन शासकहरूले गरेको चरम दमन, निर्दोष युवाहरूको हत्या, अनि आन्दोलनमा भएको धुन्धुकारि विध्वंसको जिम्मेवारहरूको पहिचान गरी उनीहरूलाई न्यायको घेरामा ल्याउनै पर्दछ।
अहिले मुलुक भ्रष्टाचार र कुशासनको चरम उत्कर्षमा पुग्नुमा न्याय प्रणाली भित्र रहेको विकृति र दलीय प्रभाव पनि उत्तिकै जिम्मेवार छ, यो अन्तरिम प्रधानमन्त्रीले आफैँ भोग्नु भएको पनि छ। न्याय प्रणाली भित्रको यस्तो दूषित अवस्थाको तत्काल सुधार अति आवश्यक छ, यसकालागि सम्भव भए ‘अन्तरिम अदालत’ गठन गर्ने हदसम्म पनि जानु पर्ने हुन सक्छ।
जेन- जी ले शुशिला कार्कीलाई वा तत्कालीन सरकारसँग कुनै आग्रह पूर्वाग्रह भएको व्यक्तिहरूलाई मन्त्री बनाएर आफ्नो प्रतिसोध लिन सक्ने बनाउन खोजेको होइन। मुलुकमा विद्यमान चरम भ्रष्टाचार र कुशासनको अन्त्य गर्न खोजेको हो जुन कुरामा तत्कालीन राजनीतिक व्यक्तित्वहरू मात्रै होइन, निर्लज्जतापूर्वक भ्रष्टाचारमा लिप्त कर्मचारीहरू, अनि यी दुई सँगको साँठगाँठले राज्य ठगेर अरबौँ कमाउने खराब नियतका व्यापारी पनि उत्तिकै जिम्मेवार छन्।
मुलुकमा कुशासनको अवस्था सुधार्ने हो भने कर्मचारी तन्त्रको अग्र भागमा रहेका धेरै कर्मचारीहरूलाई केही समय जिम्मेवारीबाट अलग राखेर सुधार गर्नु पर्ने देखिन्छ, हिजो नेताका घरमा नियुक्ति, सरुवा बढुवा कालागि नजराना, शुक्रनाका बिटा बोकेर पुग्नेहरू आज पानी माथिका ओभाना हुन सक्तैनन् हुन दिनु पनि हुँदैन।
राजनीतिक दलका नेताहरूले खास गरी सत्ताधारीहरूले आफूलाई जनताले नाङ्गे झार पारिसक्दा पनि, आफ्ना कुकर्तुतहरु साना नानीबाबुहरूले सडकमा छताछुल्ल परिसक्दा पनि, र तिनका घर महलका राजसी विलासिता, नगदको थुप्रो र अस्वाभाविक वैभव खुला गरी सक्दा पनि सहज रूपले आफू छेउ लागेर परिवर्तनको मार्ग प्रशस्त गरी केही नैतिकता देखाउने अवसर लिन छाडेर अझै आफ्नो सत्ता कसरी टिकाउने भन्ने तिकडमबाजी गर्न खोजी रहेका छन्।
तपाईँहरूको सत्ता स्वार्थमा अनेक थरी सम्झौता र संविधानमा न भएका कुरा पनि सर्वस्वीकार्य भएका थिए भने, आज कलिलो पुस्ताको यो चेतावनी मूलक प्रयासलाई तपाईँहरूले समर्थन गरेर केही भए पनि प्रायश्चित्त गर्न सक्ने अवसर लिएको भए अलिकति भए पनि जन सहानुभूति पाउनु हुने थियो, तर तपाईँहरूको आसा र भरोसाको केन्द्र आज पनि उही झोले, हुक्के, ढोके समूह मात्रै देखियो ।
हिजो तपाईँहरूको प्रभावमा रहेको जन आरोप भोगेको अदालत, तपाईँहरूको अनुग्रह वाट लाभान्वित कर्मचारीहरूको जमात, र राज्य दोहनमा तपाईँहरूका साझेदार बिचौलियाहरू यथावतै छन् भन्ने सोचेर जेनजी पुस्ताको यो देश सुधारको अभियानलाई छिर्के हान्ने प्रयास गर्नु भयो भने आगामी निर्वाचनमा यो पुस्ताले तपाईँहरूको राजनीतिक अस्तित्व धूलिसात पारिदिने छ।
जेनजीले न त राजनीतिक व्यवस्था परिवर्तन मागेको छ नत अहिलेको संबिधान मास्न खोजेको छ, उनीहरूले त देशमा सुशासन, न्याय कानुन को सुनिश्चितता, राष्ट्र प्रति ईमान्दारी, र जनमुखी ईमान्दार राजनीति मात्र खोजेका हुन्, भोलि यो पुस्ता राजनीति कब्जा गर्न आउने पनि होइन तर यो पुस्ता ‘राजनीतिक’ पात्र छनौट गर्ने सशक्त पुस्ता हो, तसर्थ यो पुस्ताको भावना विपरीत जानेहरूले आगामी निर्वाचनमा जाने आँट पनि नगरे हुन्छ। केही समय किनारा लागि नयाँ लहरको मार्ग प्रशस्त गर्नुहोस्, आत्मालोचना गर्नुहोस्, आफू र आफ्ना राजनीतिक दलहरूको शुद्धीकरण गर्नुहोस्, श्रीपेच विनाका तानाशाह हुने र भजन मण्डलीको भरमा अहङ्कार र उन्मत्तता देखाउने चरित्र परिवर्तन गर्नुहोस् र नयाँ जनादेशको प्रतीक्षा गर्नुहोस्, यसैमा तपाईँहरूको राजनीतिक भविष्य सुरक्षित रहने छ।
जेनजी पुस्ता आला काँचा छन् त्यसैले गलत तत्त्वले उनीहरूको उपयोग गर्न सक्ने खतरा पनि छ, सक्नु हुन्छ भने यो पुस्ताको ऊर्जालाई गलत प्रयोग हुनबाट जोगाउन अभिभावक बन्नु होस् सक्नु हुन्न भने एमाले जेनजी, कांग्रेस जेनजी, वा माओवादी जेनजी जस्तो नयाँ नामको झोले समूह बनाउने र यी नानी बाबुहरूको निश्छल प्रयासको खिल्ली उडाउने दुष्कार्य गर्ने काम न गर्नु होस ।
अहिले राजनीतिक दलहरू संसद् विघटनको विरोध गरिरहेका छन्, त्यसको सम्बैधनिकताको प्रश्न खडा गरी रहेका छन्। त्यसो गर्दै गर्दा कोहीले त हिजो आफैँले संसद् भङ्ग गर्ने प्रयत्न पटक पटक गरेको बिर्से जस्तो छ। दलहरूले आफू फेरी जनता सामु जानु पर्छ भन्ने लाग्छ भने अहिले आफू प्रति जनताको ठुलो आक्रोश र अविश्वासको स्थिति देखिएको छ भन्ने बुझेर आफूलाई सुधार्ने र आगामी निर्वाचनमा जान मुख देखाउन सक्ने कसरी बन्ने भन्ने चिन्ता गर्नु आवश्यक छ।
अहिले नयाँ पुस्ताले ल्याएको परिवर्तनको मागको लहर सानो होईन यदि अब कसैले यसलाई अवमूल्यन गर्ने तथा कम आकलन गर्ने भुल गर्यो भने त्यसले ठुलो सुनामी ल्याउने छ र जेन जेडको साथमा जेन वाई र जेन एक्सको समूह पनि सडकमा आउन तयार रहेको छ भन्ने कुरा अहिले बुझ्न सक्नु पर्छ। यसका साथै सडकमा कसैको आन्दोलन देखियो भने त्यसको आडमा घुसेर विध्वंसको ताण्डव देखाउन सङ्गठित घुस पैठिया, लुटेरा र आतंककारीहरुको समूह पनि दाउ छोपेर बसेकै छ। राज्य संयन्त्र यति बेला निरीह देखिएको छ। कसमे कम यति वेला आफूलाई देश, गणतन्त्र र संविधानको रक्षक दाबी गर्ने राजनीतिक दलहरूले संयम राखी विवेकपूर्ण बाटो नलिएमा संविधान त के देश पनि बाँकी न रहला कि भन्ने डर मान्नु पर्ने अवस्था देखिएको छ।