काठमाडौँ। तुलसीपुर उपमहानगरपालिका-१५ अकमीगाउँका थारु महिला मौसमी तथा बेमौसमी व्यावसायिक तरकारी खेती गरी मनग्य आम्दानीमार्फत आत्मनिर्भर बन्दै आएका छन् ।
अकमीगाउँसहित आसपासका गाउँका थारु महिला अहिले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । यसबाट जीविकोपार्जन गर्न र छोराछोरीलाई पढाउन सजिलो भएको थारु महिला बताउँछन् ।
तुलसीपुर–१५ की ४४ वर्षीया स्यानी चौधरीले व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेको लामो समय बितिसकेको छ । उनले तरकारी खेती गरेर आत्मनिर्भर बन्नुका साथै आफूलाई एक सफल महिला कृषकका रूपमा चिनाएकी छन् ।
उनले मौसमी र बेमौसमी तरकारीसहित धनियाँ बिक्री गरेर वार्षिक रु चार लाखसम्म आम्दानी भइरहेको जानकारी दिइन् । आफूले उत्पादन गरेको धनियाँ र तरकारी बिक्री गर्न एकाबिहानै छिटुवा बोकेर तुलसीपुर बजारका घरघर पुग्छिन् ।
यस पटक मौसमी धनियाँ बिक्रीबाट मात्र रु. दुई लाख ५० आम्दानी भएको स्यानीले बताइन् । उनले भनिन्, “अहिले बेमौसमी तरकारी खेती र धनियाँ खेती गरेकी छु । उत्पादन मनग्य छ, दिनहुँ जसो बजारमा बिक्री गरिरहेकी छु ।”
विसं २०५८ देखि यो पेसा अपनाएको बताउँदै स्यानीले १५ वर्षदेखि व्यावसायिक रूपमा खेती सुरु गरेको बताइन् । उनले हाल १० कट्ठा जमिनमा स्थानीय जातको बेमौसमी धनियाँ खेती गरेकी छिन् भने १० कट्ठा जमिनमा तरकारी खेती गरेकी छन् ।
एक वर्षमा दुई पटक मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएको बताउने उनले धनियाँ प्रतिमुठा रु. २० मा बिक्री गर्दै आएको जानकारी दिइन् । उनका अनुसार बोडी, भिन्डी, करेला प्रतिकिलो रु. एक सय २० सम्म बिक्री हुन्छ ।
तरकारी बेचेर भएको आम्दानीबाट स्यानीले गाउँमा १७ कट्ठा चार धुर जमिन जोडेको बताइन् । हाल १० कट्ठामा धनियाँ खेती र बाँकी जमिनमा बेमौसमी तरकारी खेती गर्दै आएको उनले उल्लेख गरिन् ।
तुलसीपुर उपमहानगरपालिकाले तरकारी बिक्रीका लागि बनाइदिएको तरकारी केन्द्र बजारबाट टाढा रहेकाले त्यहाँ उपभोक्ता नजाँदा सडकमै बसेर बिक्री गर्नुपर्ने बाध्यता रहेको स्यानीले बताइन् ।
तुलसीपुर–१५ की ५५ वर्षीया रेखा चौधरी पनि व्यावसायिक रूपमा तरकारी खेती गरेर आत्मनिर्भर बनेकी छन् । उनले १५ कट्ठा जमिनमा टमाटर, काँक्रा, सिमी, भिन्डी, बोडीलगायत बेमौसमी तरकारी खेती गरिरहेको बताइन् । उत्पादन गरेको तरकारी बिक्री गर्न दैनिक जसो बिहानै आफू तुलसीपुर बजारमा आउने गरेको उनले जानकारी दिइन् ।
रेखाले भनिन्, “पहिला हामीले धान खेती गर्दथ्यौँ, तर त्यसबाट मात्र मनग्य आम्दानी लिन नसकेपछि धान खेती छाडेर छ वर्षदेखि तरकारी खेती गरेका छौँ, दुःख भए पनि आम्दानी प्रशस्त हुन्छ । तर सडक छेउमा बसेर तरकारी बेच्नुपर्ने बाध्यताले दुर्घटनाको जोखिम छ ।” सडक छेउमा बसेर एक वर्षमा रु. चार लाखसम्म आम्दानी भइरहेको उनले जानकारी दिइन् ।।
तुलसीपुर–१५ की ४० वर्षीया राजपति चौधरीले तरकारी खेतीमा रमाउँदै वार्षिक रु. तीन लाख ५० हजारसम्म आम्दानी गरिरहेकी छिन् । उनले १४ कट्ठा जमिनमा व्यावसायिक रूपमा मौसमी र बेमौसमी तरकारी खेती गरेर आत्मनिर्भर बन्नुभएको छ । तरकारी खेतीबाटै भएको आम्दानीले दुई छोराछोरीलाई कृषि प्राविधिक विषय पढाउन सजिलो भएको उनले बताइन् ।
सामान्य लेखपढ गरेको बताउने राज पतिले यो पेसामा टिकाइराख्न महिलालाई तरकारीको उचित मूल्य र बजारीकरण, सुरक्षित बिक्री गर्ने स्थान तथा उन्नत जातको बीउ र कीटनाशक औषधि, तालिमको व्यवस्था आवश्यक रहेको भन्दै स्थानीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।
यी तीन महिला मात्रै होइन अकमी, धम्कापुर, मटेरा, मेटेरी, गोलौरी, पड्डालगायत गाउँका ५०० बढी थारु महिला तरकारी खेतीमार्फत आत्मनिर्भर बन्दै आएका छन् । तरकारी खेतीबाटै आत्मनिर्भर बन्दै गएका उनीहरूमध्ये अधिकांशले दिनहुँ तुलसीपुरस्थित सीतलपुर चोकका सडक छेउमा बिहानैदेखि बसेर तरकारी बिक्री गर्दै आएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले अकमी, धम्मकापुर, तथा आसपास क्षेत्रमा रहेका छ वटाभन्दा बढी गाउँका सयौँ थारु महिला तरकारी खेतीमार्फत आत्मनिर्भर बन्दै गएका बताइन् । उनले उपनगरपालिकाभित्र तरकारी खेती गर्ने सबै कृषकद्वारा उत्पादित तरकारीको उचित मूल्य प्राप्त गर्न, बजारीकरणका लागि आफूहरू गम्भीर रहेको बताइन् ।
उपप्रमुख चौधरीले तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको तरकारी बजार केन्द्रमा विभिन्न गाउँबाट तरकारी बिक्री गर्न आउने किसानका लागि बिहान ५ः०० बजेदेखि ७ः०० बजेसम्म समय छुट्याइएको बताइन् । सो स्थान निःशुल्क रूपमा प्रदान गरिएको उनको भनाइ छ ।
“ग्राहक त्यस ठाउँमा आउन मान्दैनन् भन्ने किसानको गुनासो आएपछि हाललाई तुलसीपुर क्षेत्रका विभिन्न तीन ठाउँमा किसानलाई सडक छेउका फुटपाथमा सुरक्षित भएर तरकारी बिक्री गर्न अनुमति दिएका छौँ”, उपप्रमुख चौधरीले भनिन्।
यसैगरी, उनीहरूलाई दिसापिसाव गर्न केही असहज भएकाले आसपासका होटेल तथा पसलका शौचालय प्रयोगका लागि उपमहानगरले समन्वय गरिरहेको जानकारी दिइन् । उपमहानगर क्षेत्रका धेरै किसान तरकारी खेतीमा आकर्षित भई आत्मनिर्भरतर्फ उन्मुख भइरहेकाले उपमहानगरले आवश्यक समन्वय र सहजीकरण गरिरहेको उनको भनाइ छ । विशेष गरी तरकारी खेतीले गर्दा महिलालाई आर्थिक रूपमा सक्षम बनाउन मद्दत पुगेको उनले बताइन् ।