काठमाडौँ । चलचित्र पत्रकार संघले चलचित्र र कला–संस्कृतिका गतिविधिलाई राष्ट्रियस्तरमा स्थापित गर्न विभिन्न प्रदेश तथा जिल्ला शाखामा अधिवेशन गरी संगठन विस्तार गरेको छ ।
चलचित्र उद्योगलाई सञ्चार क्षेत्रबाट सहयोग गर्दै आएको संघले मुलुकका १५ जिल्ला शाखा र विदेशमा आठ शाखा विस्तार गरेको केन्द्रीय अध्यक्ष समिर बलामीले जानकारी दिए । उनका अनुसार आफ्ना गतिविधि केवल चलचित्र पत्रकारितामा मात्र सीमित नभई कला, साहित्य, गीत–संगीत, रंगमञ्च, मनोरञ्जन र अन्य साङ्गीतिक कार्यक्रममा सक्रिय तुल्याउन शाखा विस्तार गरिएको बताए । संघले आफ्नो १०औँ केन्द्रीय महाधिवेशन आगामी वैशाख ५ गतेभित्र गर्ने गरी शाखा अधिवेशन गरेको जनाएको छ ।
संघको शाखा अधिवेशनबाट कोशी प्रदेशमा अध्यक्ष वीरेन्द्र शाह तथा कास्कीमा सन्तोष बस्याल, पर्सामा सूर्यनारायण विक, सुनसरीमा सुवास संकल्प श्रेष्ठ, मकवानपुरमा कपिल खड्का र मोरङमा प्रेम देवान अध्यक्ष पदमा निर्विरोध चयन भएका छन् ।
यस्तै चितवनमा गोविन्द अर्याल, इलाममा अतित योङहाङ, रुपन्देहीमा कृष्ण भण्डारी, कैलालीमा विवेक नगारी, झापामा एकराज प्रधान, सुर्खेतमा रमेशकुमार पाण्डे, बाँकेमा रामचन्द्र पौडेल र दाङमा निरला अर्याल अध्यक्षमा चयन भएका छन् । ।
संघलेले आफ्ना सदस्यका लागि दक्षता अभिवृद्धि कार्यक्रम, अन्तरक्रिया, कार्यशाला, राष्ट्रिय भेला, स्थापना दिवस, राष्ट्रिय कार्यशाला, कल्याणकारी कोष सञ्चालन, बिरामी सदस्यलाई सहयोग प्रदान लगायत कार्य गर्दै आएको छ ।