काठमाडौं — लेखक चक्रपाणी लामिछानेद्वारा लिखित नयाँ उपन्यास ‘पुर्नजागरण’ सार्वजनिक गरिएको छ। काठमाडौंस्थित होटल होलिडे रिजेन्सीमा आयोजना गरिएको विशेष कार्यक्रमका बीच उपन्यासको लोकार्पण गरिएको हो।
कार्यक्रममा बोल्दै लेखक लामिछानेले हालको परिवेशमा “नेपाल फर्कनुपर्ने, सहरमा रहनुपर्ने, सहरमा भन्दा पनि गाउँमै रहनुपर्ने” समय आएको बताउँदै विदेशमा गएर अध्ययन गरेर पुनः आफ्नै देश र गाउँ फर्किनुपर्ने सकारात्मक सन्देश उपन्यासमार्फत दिन खोजिएको बताए। उनले यो कृति ग्रामीण जीवन, सामाजिक परिवर्तन र नयाँ पुस्तालाई देशमै केही गर्ने प्रेरणा दिने उद्देश्यले लेखिएको पनि उल्लेख गरे।
कार्यक्रमका अन्य अतिथिहरूले समेत लेखकको प्रयासको प्रशंसा गर्दै शुभकामना सन्देश दिएका थिए। इन्जिनियर दिपक कुमार साहले पुस्तकले परिवर्तनलाई आत्मसात् गर्ने र समाजमा सकारात्मक सोच फैलाउने महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
स्थानीय स्तरमा ‘पुर्नजागरण’को कथा बोकेको यस उपन्यासले युवाहरुलाई गाउँ फर्किएर विकास र समृद्धिमा योगदान दिन प्रेरित गर्ने सन्देश दिएको लेखकको भनाइ छ। लामो समयदेखि पुस्तान्तरण नै रोकिएका गाउँहरूमा पुनर्जीवन भर्ने, विकास र प्रविधिको समावेशी सोच ल्याउने सन्देश पुस्तकले दिएको आयोजकले जनाएको छ।
चक्रपाणी लामिछाने प्रतिष्ठानका अनुसार पुस्तकबाट प्राप्त हुने सम्पूर्ण आम्दानी ग्रामिण क्षेत्रमा विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले एक प्राविधिक कलेज स्थापना गर्न खर्च गरिनेछ।
कार्यक्रममा साहित्य, शिक्षा, प्रविधि र सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।