![यही भाद्रमा हनुमान नाच हेर्न बागलुङ जाने होइन त !](https://ktmdainik.com/wp-content/uploads/2024/08/sloke-sing-shrestha.jpg)
मेरो पहिलो चरण परीक्षा सकेको बिदा मनाउन बागलुङ गए ।दुई हप्ता लामो बिदा काट्नु मुस्किल नै थियो । दिनभर के गरेर दिन बिताउन गाह्रो थियो तर जब मलाई बजारमा हनुमान नाचको ‘रिहर्सल’ छ भन्ने थाहा भयो त्यो दृश्य हेर्न उत्सुक थिए।
सानोमा ड्याडी सँग बुई चढेर गाईजात्राको समयमा हनुमान नाच हेरेको पातलो याद छ करिब आठ, नौ वर्ष अगाडि हुनु पर्छ होला । बिचमा एकपटक महोत्सवमा पनि नाचेको देख्या थिए तर धमिलो याद मात्र छ । तर यस पाली भने मैले पढेको बुझेको मात्र थिइन की नजिक बाट राम्रो सँग हेर्न समेत पाएको थिए।
हाम्रो नेवा: समाज सभ्यता, कला, संस्कार, रीतिरिवाज, भेसभुसा एवं भाषामा समेत विश्व सामु परिचित नै छ। म पर्वत बाहेक बागलुङमा आउने जाने भएका कारण बेला बेलामा हुने यी नेवा: जात्रा र संस्कृतिमा चासो लागेको हो।
धेरै वर्ष पछि देखाइने भनिएको यो हनुमान नाच हेर्दा मन मुटु नै सिरिङ्ग भएर आउँछ।
आगामी भाद्र महिना देखि करिब एक महिना देखाइने यो नाच बागलुङमा नौ वर्ष पछि बल्ल देखाइने भएको रहेछ।त्यसैले धमाधम सिकाई राखिएको छ।
ड्याडीले भने अनुसार पहिले पहिले बर्सेनि यो नाच गाईजात्रा को समयमा देखाइने रहेछ । तर समय परिवर्तन सँगै युवाहरू बिस्तारै विदेश पलायन हुनु बुढापाका समेत सबैको मृत्यु भईसकेको त कोही बसाई सराई गरी अन्यत्र जानुले यो नाच लोप भईसकेको रहेछ।
तसर्थ अहिले फेरी ठुला दाइहरूले आफ्नो संस्कार, रीतिरिवाज बचाई राख्नु पर्छ भनेर यो वर्ष देखि देखाउन लागिएको रहेछ ।
तल माथि रातो पहिरन र कम्मरमा सेतो फरक खालको पहिरनमा सेतो पुच्छर जोडेका हनुमान जस्तै देखिने युवाहरू दुई हातमा लट्ठी लिएर दायाँ बायाँ नाच्ने रहेछन्। उनीहरूको खुट्टामा घलङ (बझाउने मुजुरा) बाँधिएको हुन्छ। तीन, पाँच, सात र नौ गरी बिजोर वर्ष पारेर नाच नचाउने परम्परा रहेछ। यो हनुमान नाच नेवार समुदायको परम्परा, संस्कृति, धार्मिक मूल्यमान्यतामा आधारित नाच रहेछ ।
बाजाको तालमा नाच्दा शरीर फुरुङ्ग हुने र सुरुमा टोली नेता (ज्यामाको)ले प्रारम्भ गरेपछि अरूले पनि त्यसकै इसारामा यो नाच नाच्ने गर्दछन् । एक समूहमा न्यूनतम १४ जना हुने रहेछन् । बाजाको तालमा एक अर्काले लट्ठी ठोक्नु पर्ने हुन्छ । विभिन्न प्रकारका ताल छोपेर नाच्नु पर्छ । देवालय, सलामी, छ ताल, बाह्र ताल, २४ ताल, लङ्का पार गर्ने पद्धति लगायत दश तालको नाचले निकै रमाइलो बनाउँछन् ।हनुमान नाचमा संलग्न पुजारी बालकले सेता गन्जी र कछाड बाँध्ने गर्छन् । नाच्नेहरू ‘हनुमानको स्वरूप’ मा उत्रिन्छन् ।
पहिले पहिले हाम्रो नेवार समुदाय मात्र सहभागी हुँदै आएको यो नाचमा अहिले अन्य समुदायका बालक, युवाहरू पनि सहभागी भएका छन्। भुपतिन्द्र मल्लले भक्तपुरमा सुरु गरेको ‘हनुमान नाच’ बागलुङका नेवार समुदायले पनि यसको संरक्षणमा नाच्ने गरेका छन् ।
भक्तपुरका नेवार समुदाय बि. स.१७६८ मा बागलुङ आए सँगै हनुमान नाच नाच्न थालिएको इतिहास रहेछ । अत्यन्तमा यी नाच, जात्रा नेवारको मात्र नभई सम्पूर्ण देशको धार्मिक ऐतिहासिक कला संस्कृतिको रक्षा गर्नु हाम्रो दायित्व हो।
श्लोक सिंह श्रेष्ठ
कक्षा -८
नमुना आवासीय माध्यमिक विद्यालय पर्वत कुस्मा