काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच सहमति जुटेपछि सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल आउँदो ३० चैतमा हुने भएको छ।
मंगलबार एन्फा र खेलाडी संघबीच भएको छलफलपछि सहमतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले उद्घाटन खेल ३० चैतमा गर्ने सहमति भएको जानकारी दिए।
खेलाडी संघले उठाएका विभिन्न मागबारे समेत सकारात्मक छलफल भएको र अन्य बुँदाहरूमा पनि सहमति नजिक पुगेको शाहले बताए। उनका अनुसार खेलाडीहरूको अधिकार, सुविधा र प्रतियोगिताको व्यवस्थापनसँग सम्बन्धित विषयहरूमा सहमतिका आधार तयार गरिएको छ।
यसअघि आइतबार नेपाल फुटबल खेलाडी संघले विभिन्न मागहरू राख्दै एन्फा मुख्यालयमा तालाबन्दी गरेको थियो। तालाबन्दीपछि उत्पन्न भएको विवाद समाधान गर्न मंगलबार दुवै पक्षबीच वार्ता भएको हो।
वार्तापछि सहमति जुटेसँगै ए डिभिजन लिग सञ्चालनको बाटो खुलेको छ। एन्फाले अब निर्धारित मितिअनुसार प्रतियोगिताको तयारीलाई तीव्र बनाउने जनाएको छ।