
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।
भेटका क्रममा दुवै पक्षबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको प्रमुख कार्यादेश निर्वाचन भएकाले त्यसमा सहयोग पुर्याउन आग्रह गरेकी थिइन् ।
सो अवसरमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश हस्तान्तरण गरे। परराष्ट्र मन्त्रालयका अनुसार सन्देशमा नेपाल-भारतबीचको मित्रता र सहयोगलाई अझ सुदृढ बनाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
राजदूत श्रीवास्तवले असल छिमेकीको नाताले नेपाललाई आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता प्रकट गर्नुभएको थियो। साथै उनले आगामी असोज २ गते भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कार्कीसँग टेलिफोन वार्ता गर्ने तयारी भइरहेको जानकारी पनि दिए ।