तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन् ।
गत चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएका बालेनलाई सोमबार बधाई दिँदै पेजेश्कियनले दुई देशबीच समग्र सहकार्य विस्तार गर्न इरान तयार रहेको बताएका छन्।
सोमबार प्रधानमन्त्री बालेनलाई पठाएको सन्देशमा राष्ट्रपति पेजेश्कियानले भनेका छन्, ‘इरान र नेपालबीच विगत ६ दशकदेखि कायम रहेको मित्रवत् सम्बन्धलाई हामी उच्च मूल्यांकन गर्छौं। यो सम्बन्ध सधैं आपसी सम्मान र साझा हितमा आधारित रहेको छ।’
उनले नेपालसँग आर्थिक, व्यापारिक, ऊर्जा, पर्यटन, कृषि र शैक्षिक क्षेत्रमा सहकार्य विस्तार गर्न इरान पूर्ण रूपमा तयार रहेको बताएका छन्।
राष्ट्रपति पेजेश्कियानले प्रधानमन्त्री वालेन्द्रलाई कार्यकालको सफलताको शुभकामना दिँदै नेपालका जनतालाई प्रगति र समृद्धिको कामना गरेका छन्।
उनले भनेका छन्, ‘प्रधानमन्त्री शाहको कार्यकारी र राजनीतिक क्षेत्रमा रहेको बहुमूल्य अनुभवले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन र सहकार्यका नयाँ क्षितिज खोल्न महत्वपूर्ण भूमिका खेल्नेछ।’
यो शुभकामना सन्देश इरानको सरकारी समाचार संस्था आईआरएनएले सार्वजनिक गरेको हो। प्रधानमन्त्री बालेन्द्रको नेतृत्वमा चैत १३ गते गठन भएको नयाँ सरकारलाई विभिन्न देशका नेताहरूले बधाई दिइरहेका बेला इरानका राष्ट्रपति पनि जोडिएका हुन् ।
इरानी राष्ट्रपतिको यो सन्देशले नेपाल–इरान सम्बन्धलाई नयाँ गति दिन सक्ने अपेक्षा गरिएको छ। इरान अहिले अमेरिकी र इजरायली आक्रमणको सामना गरिरहेको छ। अहिले युद्धविराम चलिरहेको अवस्थामा इरानले नेपाली नयाँ प्रमलाई बधाई पठाएको हो ।