तनहुँ – पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ। सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै यहाँ आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो।
यसअघि शुक्रबार र शनिबार बन्दीपुरमा पर्यटकको भिड हुने गरेकामा बिदाका कारण आइतबार पनि पर्यटकको आगमन बढेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए । उनले भने, “पछिल्लो समय सर्वसाधारणमा घुम्ने संस्कृतिको विकास भएको छ । त्यसमाथि सरकारले आइतबार पनि बिदा दिने निर्णय गरेपछि बन्दीपुरमा आन्तरिक पर्यटक बढ्दैछन् ।”
प्रधानले हिजो आइतबारमात्रै एक हजार बढी पर्यटक बन्दीपुर आएको जानकारी दिए । उहाँका अनुसार अन्य समयका आइतबार पर्यटकको चहलपहल निकै कम हुने गर्दथ्यो ।
बन्दीपुरका पर्यटन व्यवसायी वैशबहादुर गुरुङले हप्ताको दुई दिन बिदा दिने निर्णय पर्यटन प्रवर्द्धनका लागि सहयोगी हुने विश्वास व्यक्त गरे । उनले भने, “घुम्ने संस्कृति विकास भएका कारण आइतबारको बिदाले बन्दीपुरको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ ।”
बन्दीपुर गाउँपालिकाले सन् २०२५ मा सञ्चालन गरेको बन्दीपुर भ्रमण वर्षका अवसरमा छ लाख ५० हजार पर्यटक बन्दीपुर भित्रिएका थिए । यहाँका खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यको रुपमा सूचीकृत गरेको छ।
भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरू यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ।