काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा संसदीय दलको नेता चयन प्रक्रिया वैशाख ४ गतेका लागि तय गरेको छ। निर्वाचन समितिले वैशाख २ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने जनाएको छ।
पार्टीका सहमहामन्त्री तथा निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’ले दलको नेता चयनका लागि सहमतिको प्रयास जारी रहेको बताएका छन्। उनले भनेका छन्, ‘नेपाली काँग्रेस संसदीय दलको नेता चयन वैशाख ४ गते गर्ने । वैशाख २ गते निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्छ । पार्टी नेतृत्वले सहमतिको प्रयास जारी राख्छ । सहमतिको प्रयास जारी रहे पनि निर्वाचन प्रक्रियामा जानु पर्छ नै । एकल उम्मेदवारी पर्यो भने सर्वसम्मत नेता चयन हुन्छ । नभए लोकतान्त्रिक विधि पद्धतिबाट निर्वाचन गराएर प्रतिपक्षी दलको नेता चयन हुन्छ ।’
दलको नेता चयन प्रक्रियासँगै पार्टीभित्र सहमति र प्रतिस्पर्धा दुवै सम्भावनालाई खुला राखिएको जनाइएको छ। सहमति कायम भए सर्वसम्मत रूपमा चयन हुने र बहुविध उम्मेदवारी परे निर्वाचनमार्फत चयन हुने व्यवस्था गरिएको छ।
संसदीय दलको नेता चयनका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यलगायत सांसदहरूले आकांक्षा देखाएका छन्। उक्त प्रक्रिया सम्पन्न भएपछि प्रतिनिधिसभामा प्रतिपक्षी दलको नेतृत्वसम्बन्धी संरचना टुंगो लाग्ने अपेक्षा गरिएको छ।