काठमाडौँ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा भएको दोहोरो हत्याकाण्डमा संलग्न अभियुक्तलाई नियन्त्रणमा लिन सफल प्रहरीलाई सम्मान गरिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटी तथा घटनामा सक्रिय भूमिका निर्वाह गर्ने एक महिला प्रहरीलाई नगदसहित पुरस्कृत गरिएको हो। उनीहरूले हतियारसहित फरार हुने प्रयासमा रहेका अभियुक्तलाई साहसिक रूपमा पछ्याउँदै नियन्त्रणमा लिन सफल भएका थिए।
उक्त सम्मान काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख (प्रहरी अतिरिक्त महानिरीक्षक) ईश्वर कार्कीको उपस्थितिमा प्रदान गरिएको जनाइएको छ।
प्रहरीका अनुसार बुधबार साँझ करिब ७:४० बजे भएको घटनामा सिर्जन नेम्बाङ र सुमीत नेम्बाङमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण हुँदा ज्यान गएको थियो।
प्रारम्भिक अनुसन्धानले फोन वार्ताबाट सुरु भएको विवाद उग्र बन्दै जाँदा सञ्जीव नेपाली ले उक्त घटना घटाएको देखिएको छ।