काठमाडौं – सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएपछि परराष्ट्र मन्त्रालयमा हाजिर गर्दै आएका जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीले पदबाट राजीनामा दिएका छन् ।
उनले गत बुधबार दिएको राजीनामा बिहिबार परराष्ट्रमन्त्री शिशिर खनालले स्वीकृत गरेका हुन् । सुशीला कार्की नेतृत्वको सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध राजदूतहरूले सर्वोच्चमा रिट हालेका थिए ।
उक्त रिटमा अदालतले निर्णय कार्यान्वयन नगर्नु भन्ने आदेश दिएपछि मन्त्रालयले पदबाट हट्न नचाहेका राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा छुट्टै कार्यकक्ष खडा गरे हाजिर गराउँदै आएको थियो ।
रुपाखेती पनि राजीनामा नदिइ हाजिर गर्दै आएका थिए । ‘एक कानुन पालन गर्ने नागरिकको रूपमा मैले सर्वोच्च अदालतको मान राखी उक्त आदेशको पालना गर्नु आफ्नो कर्तव्य ठानें र तत्कालीन सरकारले पठाएको दोस्रो पत्र बमोजिम नेपाल फर्केर परराष्ट्र मन्त्रालय मै हाजिर भएँ’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
उनले परराष्ट्रमा हाजिर गर्दादेखिको अवधिको कुनै पनि तलब र सुविधान निलएको राजीनामापत्रमा उल्लेख गरेका छन् ।