काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज (शुक्रबार) सम्बोधन गर्ने भएका छन् ।
नेपालको संविधानको धारा ९५ को व्यवस्थाबमोजिम राष्ट्रपति पौडेलले आज दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका हुन् ।
संविधानको धारा ९५(२) ले राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था गरेको छ ।
संघीय संसद् सचिवालयले राष्ट्रपतिले सम्बोधन गर्ने बैठकको दिन २:४५ बजेभित्र उपस्थित भइसक्न सदस्यहरूलाई सूचितसमेत गरिसकेको छ ।