अमेरिका — नेपाली मूलका युवा नेता अमेरिकाको मेरिल्याण्डको डिष्ट्रिक ७ ए बाट नेपाली यूवा सतीश चापागाईले स्टेट डेलिगेटको लागि चुनावी अभियान शुरु गरेका छन् । उनले गत महिना नै उमेद्वारी दर्ता गराएको चुनावी प्रचार अभियानको कार्यक्रममा जानकारी गराए ।
मेरिल्याण्डमा रहेका नेपालीहरुको भव्य उपस्थितीका बीचमा चापागाईले आफु निर्वाचनमा होमिनुको कीरण बताउदै सहयोगको लागि अनुरोध पनि गरेका थिए ।
उपस्थित सबैले सतीश चापागाईका बहुआयामिक व्यक्तित्वको चर्चा गर्दै उनलाई तन मन धनले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
आगामी नोभेम्बरमा हुने निर्वाचनका लागि मेरिल्याण्डमा राज्यमा यहि जुन २३ मा प्राईमरी निर्वाचन हुदैछ ।
चापागाईको डिष्ट्रिकमा उनको डेमोक्रेटिक पार्टीको प्राईमरीमा २ सिटका लागि ४ जनाको उमेद्वारी परेको छ ।
उनले डेमोक्रेटिक पार्टीभित्र प्राईमरी लड्न लागेका हुन् । चापागाईसंगै लिडिया ब्राउन, चम बेकर र क्लिभलेण्ड रेनोल्ड जुनियर प्रतिस्पर्धामा छन् ।
चापागाई अहिले सोही डिष्ट्रिकबाट उक्त पार्टीको केन्द्रिय सदस्य छन् । चार बर्ष अगाडी चापागाईले ४ हजार १ सय मत ल्याएर पार्टीको केन्द्रिय सदस्य पदमा विजय हासिल गरेका थिए ।
“पार्टी कै साथीहरुको सल्लाह, सुझाब र सहयोगबाट मैले उमेद्वारी दर्ता गराएको छु ।” चापागाईले भने ।
प्राईमरीका लागि आगामी जुन २३ गते निर्वाचन हुंदैछ । प्राईमरीमा निर्वाचन जिते भने चापागाईले रिपब्लिकन उमेद्वारसंग नोभेम्बरमा पुन: निर्वाचन लड्नुपर्ने छ ।
पछिल्लो मतगणना अनुसार ८३ हजार जनसंख्या रहेको यस डिष्ट्रिकमा ४ प्रतिशत एशियन मूलका मानिस बसोबास गर्दछन ।
प्रतिशतका आधारमा यो क्षेत्रमा ४४.९ प्रतिशत रिपब्लिकन, ३४. ७ प्रतिशत डेमोक्र्याट र १८.९ ईन्डिपेन्डेन्ट मतदाता रहेका छन् ।