काठमाडौँ । सभामुख डोल प्रसाद अर्यालले स्थानीय तहहरूले जनतालाई गुणस्तरीय सेवा प्रदान गर्न प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाल नगरपालिका संघको ३३औँ स्थापना दिवसको अवसरमा सभामुख अर्यालले सामाजिक विकास र सुशासनलाई प्राथमिकतामा राख्दै अनुभव र असल अभ्यासको आदान–प्रदान गर्न आग्रह गरेका हुन्। उनले सेवाग्राहीको सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्नुपर्ने र काममा कुनै त्रुटि हुन नदिनुपर्ने कुरामा विशेष ध्यानाकर्षण गरेका छन्।
सभामुख अर्यालले संस्थागत वा व्यक्तिगत हितभन्दा सेवा प्रदान गर्ने कार्यमा जनताको सन्तुष्टि पहिलो प्राथमिकता हुनुपर्ने धारणा व्यक्त गर्दै, स्थानीय तहले सरकारको कामलाई जनतासम्म पुर्याउने सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन्।
स्थानीय तह सुदृढ बनाउन, बजेट व्यवस्थापन तथा अन्य विषयमा सबै तहका सरकारबीच समन्वय आवश्यक रहेको भन्दै सभामुखले त्यसमा आफू प्रतिबद्ध रहेको पनि स्पष्ट पारेका छन्।