कुनै पनि मुलुकको दीर्घकालीन स्थिरता र समुन्नति केवल राजनीतिक संरचना वा सत्ताको फेरबदलबाट मात्र सम्भव हुँदैन। यसको मूल आधार भनेको त्यहाँको इतिहास, संस्कार, मौलिकता र राष्ट्रिय आत्मचेतनासँग मेल खाने राजनीतिक सोच, प्रणाली र नेतृत्व हो। जब कुनै राष्ट्रले आफ्नै माटो सुहाउँदो विचार, स्पष्ट दृष्टि, मूल्य र दीर्घकालीन राष्ट्रिय लक्ष्य निर्धारण गर्न असफल हुन्छ, तब त्यो राष्ट्रमा अस्थिरता, अन्योल र विकासको अवरोध स्वाभाविक रूपमा देखापर्छ।
इतिहासले देखाएको छ कि विश्वका सफल राष्ट्रहरूले आफ्नो मौलिक पहिचान र ऐतिहासिक अनुभवलाई नै विकासको आधार बनाएका छन्। जापानले आफ्नो संस्कृति र अनुशासनलाई आधार बनायो। चीनले आफ्नै सभ्यता र राज्यदर्शनलाई मार्गदर्शक बनायो। र युरोपका धेरै देशहरूले आफ्नो ऐतिहासिक मूल्य र राष्ट्रिय हितलाई केन्द्रमा राखेर नीति निर्माण गरे।
उनीहरूले अन्धाधुन्ध रूपमा बाहिरी मोडेलको नक्कल गरेनन्; बरु आफ्नो समाज,भूगोल, संस्कार र आवश्यकतालाई बुझेर प्रणाली विकास गरे। यही कारणले उनीहरूले स्थायित्व र प्रगति हासिल गर्न सके।
नेपालको सन्दर्भमा पनि यही सत्य लागू हुन्छ। नेपाल केवल एउटा भौगोलिक इकाइ मात्र होइन; यो हजारौं वर्षको सभ्यता, संस्कृति र राष्ट्रिय आत्मगौरवले बनेको राष्ट्र हो। यही ऐतिहासिक निरन्तरता र राष्ट्रिय स्वाभिमानको बलमा नेपाल एकीकरण सम्भव भएको थियो। त्यसैले नेपालको भविष्य निर्माण गर्दा पनि यही इतिहास र मौलिक सोचलाई आधार बनाउनु अपरिहार्य छ।
यस सन्दर्भमा “पृथ्वीपथ” केवल इतिहासको स्मरण मात्र होइन, राष्ट्रनिर्माणको मार्गदर्शक विचार पनि हो। राष्ट्रएकीकरणका महान् अभियन्ता पृथ्वीनारायण शाहले प्रस्तुत गरेको राज्यदर्शनले राष्ट्रिय स्वाभिमान, आत्मनिर्भरता, भौगोलिक संवेदनशीलता र सांस्कृतिक एकताको महत्वलाई स्पष्ट रूपमा देखाएको थियो।
उनले नेपाललाई “चार जात छत्तीस वर्णको साझा फूलबारी” का रूपमा व्याख्या गर्दै विविधतालाई एकतामा बाँध्ने दृष्टिकोण प्रस्तुत गरेका थिए। साथै उनले विदेशी प्रभावप्रति सजग रहँदै राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने विचार पनि दिएका थिए।
आजको नेपालको राजनीतिक अवस्था हेर्दा, स्पष्ट दृष्टि र दीर्घकालीन राष्ट्रिय लक्ष्यको अभावले देश बारम्बार अस्थिरताको चक्रमा फसेको देखिन्छ। विभिन्न बाह्य विचारधारा र मोडेलहरू बिना गहिरो अध्ययन अपनाइँदा, ती विचारहरू माटो सुहांउदो अनि नेपाली समाज र वास्तविकतासँग मेल नखाँदा समस्याहरू उत्पन्न भएका छन्। परिणामस्वरूप विकासको गति सुस्त भएको छ, सुशासन कमजोर भएको छ र जनतामा राजनीतिक प्रणालीप्रति निराशा बढेको छ।
यस्तो अवस्थामा नेपालको समृद्धि, प्रगति र स्थायित्वका लागि पुनः आफ्नै ऐतिहासिक मार्गदर्शनतर्फ फर्कनु आवश्यक छ। “पृथ्वीपथ” भन्नुको अर्थ अतीतमा फर्किनु मात्र होइन; बरु नेपालको इतिहास,भूगोल, संस्कृति र राष्ट्रिय हितलाई केन्द्रमा राखेर आधुनिक राष्ट्र निर्माण गर्नु हो। यसले राष्ट्रिय स्वाभिमानलाई बलियो बनाउँछ। नेतृत्वलाई स्पष्ट दिशा दिन्छ। र राष्ट्रलाई दीर्घकालीन लक्ष्यतर्फ अघि बढाउन सहयोग गर्छ।
त्यसैले नेपाललाई स्थिर, समुन्नत र आत्मनिर्भर राष्ट्र बनाउनका लागि मौलिकता, इतिहासप्रतिको गर्व र माटो सुहाउँदो राज्यदर्शन अनिवार्य छ। यही सन्दर्भमा “पृथ्वीपथ” नेपालको समृद्धि, प्रगति र स्थायित्वका लागि मार्गचित्र बन्न सक्छ भन्ने कुरा आज झन् सान्दर्भिक देखिन्छ।
जब राष्ट्र आफ्नै पहिचान र ऐतिहासिक चेतनामा आधारित भएर अघि बढ्छ, तब मात्र स्थिरता, सुशासन र दिगो विकासको आधार तयार हुन्छ।