काठमाडौँ – इजरायलस्थित नेपाली दूतावासले मध्यपूर्वमा विकसित बढ्दो तनावका कारण जारी युद्धबाट आउन सक्ने गम्भीर समस्यालाई ध्यानमा राख्दै विभिन्न स्थानमा रहेका नेपालीजनलाई मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
दूताबासले इजरायलको मापदण्ड, नियम कानून पालनासँगै आवश्यक सूचना र साइरनले दिने संकेतबारे पनि अद्यावधिक रहन र समस्या पर्दा दूताबासमा तत्काल सम्पर्कमा आउन आग्रह गरेको हो ।
दूताबासले संयमता अपनाएर जहाँ बसोबास भइरहेको छ, त्यहीँ सतर्क र सुरक्षित रहन, इजरायल सरकार र आधिकारिक निकायद्वारा जारी सूचना र निर्देशन पालना गर्न पनि आग्रह गरेको हो ।
यस्तै, साइरन, एसएमइस इलर्ट आए हेलचेक्र्याईं नगरी समयभित्रै आफू नजिक रहेको बम सेल्टरमा जान भनिएको छ ।
राहदानी, परिचयपत्र, सवारी चालक अनुमतिपत्र, बैंक कार्ड लगायतका कागजात साथमा राख्न, विकसित घट्नाक्रमबारे नियमितरूपमा अद्यावधिक जानकारी राख्न पनि आग्रह गरिएको छ ।
यस्तै, सामाजिक सञ्जालमा देखिएका युद्धसम्बन्धी भिडियो अनावश्यकरूपमा सेयर नगर्न, साथीभाइ, परिवार तथा आफन्तसँग नियमित सम्पर्कमा रहन, आपतकालीन अवस्थामा नेपाली राजदूतावासमा सम्पर्क गर्न पनि दुताबासले आग्रह गरेको छ ।