काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वमा जारी द्वन्द्वका कारण प्रभावित नेपाली नागरिकहरूको तथ्यांक संकलन कार्य जारी रहेको बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले हालसम्म करिब ८८ हजारभन्दा बढी नेपालीले आफ्नो विवरण दर्ता गराइसकेको जानकारी दिए। पछिल्ला दिनहरूमा त्यहाँबाट आउने फोनको संख्या घट्दो क्रममा रहे पनि आकस्मिक रूपमा स्वदेश फर्कनुपर्ने अवस्था आउन सक्ने भएकाले सरकारले आवश्यक तयारी गरिसकेको उनले बताए।
उनका अनुसार नेपाल फर्कन चाहने नागरिकहरूको सहज आवागमनका लागि नेपाल एयरलाइन्स र पर्यटन मन्त्रालयसँग समन्वय गरिएको छ। विशेषगरी मध्यपूर्व क्षेत्रमा उडान व्यवस्थापनलाई थप सहज बनाइएको छ। दुबईमा नियमित उडान सुरु भइसकेको र साउदी अरब लगायतका गन्तव्यमा थप उडान विस्तार गर्ने तयारी भइरहेको उनले बताए।
मन्त्री खनालले द्वन्द्वका कारण आपूर्ति प्रणाली, रोजगारी तथा समग्र आर्थिक क्षेत्रमा परेको असरको अध्ययन गर्न सरकारद्वारा कार्यदल गठन गरिएको पनि जानकारी दिए।