काठमाडौँ – इरानले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण हर्मुज जलघाँटी अब अमेरिका र इजरायलका लागि ‘पहिले जस्तो सुरक्षित र सहज’ नहुने चेतावनी दिएको छ ।
इरानी अधिकारीहरूले जारी द्वन्द्वपछि क्षेत्रीय शक्ति सन्तुलन बदलिएको दाबी गर्दै हर्मुज जलघाँटीको अवस्था स्थायी रूपमा परिवर्तन भएको बताएका हुन् ।
इरानले अमेरिका–इजरायलको सैन्य गतिविधिलाई जिम्मेवार ठहर गर्दै अब यो जलमार्गमा उनीहरूको प्रभाव र सहज पहुँच सीमित हुने संकेत दिएको छ। ‘हर्मुज अब पहिलेको जस्तो रहने छैन,’ इरानी पक्षको भनाइ उदृत गदै अलजजीराले रिपोर्टमा भनेको छ ।
हर्मुज जलघाँटी विश्वको प्रमुख तेल आपूर्ति मार्ग भएकाले यहाँको अस्थिरताले अन्तर्राष्ट्रिय बजारमा गम्भीर असर पार्न सक्ने विश्लेषण गरिएको छ । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होस गुमाएर पागल प्रलाप गर्न थालेको भन्दै उनलाई सम्हाल्न र विश्वयुद्ध रोक्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षणसमेत गराएको छ ।
ट्रम्पले अश्लील र उत्तेजक भाषामा इरानलाई जलमार्ग खोल्न अल्टिमेटम दिएलगत्तै तेहरानको यस्तो प्रतिक्रिया आएको हो ।