भक्तपुर – भक्तपुरमा बर्ड फ्लु भेटिएको छ। वडा नं. ८ स्थित महेश्वरी पीठ क्षेत्रमा मृत भेटिएका कागहरूमा बर्ड फ्लुको एज९ भाइरस फेला परेको हो।
बिहीबार स्थानीयले कागहरू मरिरहेका जानकारी गराएपछि परीक्षणका लागि काठमाडौंको टेकुस्थित अनुसन्धान प्रयोगशाला पठाइएको र शुक्रबार प्राप्त रिपोर्टमा बर्डफ्लुको एज९ भेरियन्ट भेटिएको भक्तपुर नगरपालिकाको सूचना अधिकारी दामोदर सुवालले बताए।
पशुपन्छी शाखाकी प्रमुख पार्वती योन्जनका अनुसार यो भेरियन्ट मानिसमा भने सर्दैन। तर, पन्छीहरुमा सर्ने जोखिम भने रहेको उनको भनाइ छ।
सरसफाइ शाखाका प्रमुख दिलीप कुमार सुवालले वडा नम्बर १ स्थित सिद्धपोखरी क्षेत्रमा पनि शुक्रबार मृत काग भेटिएको जानकारी दिए। नगरपालिकाले कुखुरा लगायत पन्छी फारमहरुमा उच्च सतर्कता अपनाउन किसान र व्यवसायीलाई आग्रह गरेको छ।
बर्ड फ्लु फेला परेको पुष्टि भएपछि कुखुरा तथा अन्य पन्छीमा रोग सर्ने जोखिम भएकाले विशेष सावधानी अपनाइएको भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले बताए।
संक्रमित पन्छीसँगको प्रत्यक्ष सम्पर्क र दाना–पानीमार्फत रोग फैलन सक्ने भएकाले किसान तथा व्यवसायीलाई सार्वजनिक सूचना मार्फत सतर्क गराइएको उनको भनाइ छ।