काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८३/ ८४ को बजेट निर्माणका लागि औपचारिक प्रक्रिया अघि बढाएको छ । अर्थ मन्त्रालयले बजेट लेखनका लागि समिति गठन गरेको छ ।
मन्त्रालयले बजेट लेखनका लागि राजश्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तर कुमार खत्रीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएकाे छ । गठित समितिमा अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरूलाई सदस्यका रूपमा चयन गरिएको छ ।
समितिको सदस्यमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा.सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा.धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल रहेका छन् ।
यो समितिले मुख्यगरी आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमका लागि आवश्यक सुझाव उपलब्ध गराउने र कार्यान्वयन गरिने आयोजना एवं कार्यक्रमहरूको प्राथमिकीकरणमा सहजीकरण गर्ने कार्य गर्नेछ ।
अर्थ मन्त्रालयका अनुसार संघीय संसदका दुवै सदनमा पेश गरिने विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा लेखन कार्य पनि यसै टोलीले गर्ने छ ।