काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सम्भावित सभामुखको भूमिकामा पुगेपछि संविधान र कानुनी व्यवस्थाअनुसार जनहित केन्द्रित कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सभामुख पदका लागि मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले जिम्मेवारी औपचारिक रूपमा प्राप्त भएपछि संवैधानिक प्रावधान, विद्यमान कानुन तथा नागरिक हितलाई प्राथमिकतामा राखेर काम गर्ने स्पष्ट पारे। हाल प्रक्रिया जारी रहेकाले अन्तिम निर्णय भइसकेको नभए पनि त्यसपछि आफ्नो कार्यदिशा स्पष्ट हुने उनले उल्लेख गरे।
उनले शासन प्रणालीमा तीनै अंगबीचको सन्तुलन कायम राख्न व्यवस्थापिकाको भूमिका महत्वपूर्ण हुने औँल्याउँदै त्यसलाई निष्पक्ष र न्यायोचित ढंगले निर्वाह गर्ने धारणा राखे। राष्ट्रहित र राष्ट्रियताको संरक्षणलाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी पूरा गर्ने उनको भनाइ छ।
अन्य दलबाट प्रतिस्पर्धा नदेखिएको र सम्बन्धित दलको बहुमत स्थिति रहेको सन्दर्भमा अर्याल निर्विरोध हुने आकलन गरिएको छ।