काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले अत्यावश्यक आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार सिंहदरबारमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग भएको छलफलमा उनले सीमित बजेटको दायराभित्र रहेर महत्वपूर्ण योजनाहरूलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिने बताए।
छलफलका क्रममा प्रधानमन्त्रीले प्रदेशमा रोकिएका वा अघि बढ्न नसकेका आवश्यक योजनाहरूको बारेमा जानकारी लिएका थिए। कैलाली–४ बाट निर्वाचित सांसद खेमराज कोइरालाका अनुसार सुदूरपश्चिमका लागि करिब २ अर्ब ६० करोड रुपैयाँ बराबरको बजेट विनियोजन गर्न आग्रह गरिएको थियो, जसमा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया दिएका छन्।
उनले बजेटको आकार अनुसार आवश्यक योजनाहरूलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको पनि कोइरालाले बताए।
यसअघि सोमबार प्रधानमन्त्री शाहले कोशी र कर्णाली प्रदेशबाट निर्वाचित विभिन्न दलका सांसदहरूसँग पनि यस्तै छलफल गरेका थिए।