काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति असहमति जनाउँदै राजधानीमा विरोध कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
सोहीअनुसार आज पनि काठमाडौँको माइतीघर मण्डल क्षेत्रमा प्रदर्शन आयोजना गरिने भएको हो।
पार्टीका अनुसार ओलीलाई राजनीतिक पूर्वाग्रहका आधारमा गैरकानुनी ढंगले नियन्त्रणमा लिएको आरोप लगाउँदै आन्दोलन जारी राखिएको हो। एमालेको राजधानी प्रदेश कमिटीको संयोजनमा हुने आजको कार्यक्रम दिउँसो १ बजेका लागि तय गरिएको जानकारी दिइएको छ।
पार्टी सचिव महेश बस्नेतले समर्थक तथा कार्यकर्तालाई प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले सरकारको गतिविधि अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोपसमेत लगाएका छन्।
ओलीलाई नियन्त्रणमा लिइएको दिनदेखि नै एमालेले निरन्तर रूपमा विरोध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।