काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सर्वोच्च अदालतले सुनुवाई गर्ने भएको छ।
उनीहरूको सुनुवाइ छुट्टाछुट्टै इजलासमा हुने सर्वोच्चले जनाएको छ।
ओली पत्नी राधिका शाक्यले दिएको रिटको सुनुवाइ न्यायाधीश मेघराज पोखरेलको इजलासमा हुनेछ। यस्तै लेखकपत्नी यशोदाले दिएको रिटको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा हुनेछ।
उनीहरू दुवैलाई प्रहरीले शनिबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। भदौ २३ र २४ गते भएको घटनासँग सम्बन्धित कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको हो।
ओली शिक्षण अस्पतालमा भर्ना भएका छन्। लेखक भने प्रहरीको २ नम्बर गणमा छन्। जिल्ला अदालतले उनीहरूलाई पाँच–पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।