सुरुङ्गा (झापा) । पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा आज बिहान पुनः पहिरो खसेसँगै अवरुद्ध भएको छ ।
यसअघिको पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा आएको सडकमा बिहानै फेरि पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आज बिहान खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । उनका अवरुद्ध सडक खुलाउन प्रयास जारी रहेको छ ।
यसअघि साँझ सुक्खा पहिरोका कारण अवरुद्ध भएको राजमार्ग राति १०:५० बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको थियो । तर, आज बिहान फेरि पहिरो झरेपछि अवस्था जटिल बनेको हो ।
इलामको रोङ गाउँपालिका-४ बागखोरस्थित सडक मर्मत भइरहेको स्थानमा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेको हो । सोही क्रममा इलामबाट झापातर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ४३३४ नम्बरको गोलिया बोकेको ट्रक पुरिएको प्रहरीले जनाएको छ ।