काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित एक विशेष समारोहबीच ३६ वर्षीय शाहलाई प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ गराएका हुन्।
यसअघि राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६(१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताका रूपमा शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। संविधान २०७२ जारी भएयता सो धाराअन्तर्गत प्रधानमन्त्री नियुक्त भएको यो पहिलो घटना हो। साथै, मधेशी समुदायबाट प्रधानमन्त्री बन्ने शाह पहिलो व्यक्ति बनेका छन्।
काठमाडौं महानगरपालिकाका मेयर पदबाट राजीनामा दिएर फागुन २१ मा सम्पन्न निर्वाचनमा सहभागी भएका शाह पहिलोपटक संसद् प्रवेश गर्दैै प्रधानमन्त्री बन्न सफल भएका हुन्। उनले झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब ५० हजार मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।