काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन स्थगन भएको छ । एन्फालाई राष्ट्रिय खेलकुद परिषद्ले निलम्बन गरेपछि शुक्रबारका लागि तय भएको निर्वाचन स्थगित भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) निर्वाचन समितिले सूचना जारी गर्दै निर्वाचन स्थगन भएको जानकारी दिएको छ ।
“अखिल नेपाल फुटबल संघ (एन्फा)लाई राष्ट्रिय खेलकुद परिषद्ले मिति २०८२।१२।११ गते तीन महिनासम्मका लागि निलम्बन गरेको भन्ने पत्र एन्फा सचिवालयमार्फत यस निर्वाचन समितिलाई मिति २०८२।१२।१२ गते प्राप्त भएको छ,” सूचनामा भनिएको छ, “मिति २०८२।१२।१३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ ।”
निर्वाचनका लागि झापामा एन्फा कार्यसमिति, जिल्लाका प्रतिनिधि पुगिसकेका थिए ।
एन्फा प्रवक्ता सुरेश शाहले राखेपको निलम्वन र झापामा निर्वाचनका क्रममा बल प्रयोग हुनसक्ने सम्भावना समेतलाई मध्यनगर गरी निर्वाचन रोकिएको बताए ।
बिहीवार नै डिभिजन क्लब तथा कतिपय जिल्ला संघका प्रतिनिधिहरू तथा उमेदवारी दिएका पदाधिकारीहरूले पत्रकार सम्मेलन गरेर सरकारले एन्फालाई निलम्बन गरिसकेकाले उक्त निर्णयलाई सम्मान गर्दै निर्वाचनमा नजाने बताएका थिए । एन्फाको निर्वाचन स्थगित भएको यो तेस्रो पटक हो ।