काठमाडौँ । दान बहादुर कार्की ले चैते दसैँको अवसरमा बिहीबार नक्साल स्थित नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ मा मौलो पूजा सम्पन्न गरेका छन्।
नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको मौलो पूजामा महानिरीक्षक कार्कीले बली पूजा गर्दै निशानमा पञ्जा छापसमेत लगाएका थिए।
सो अवसरमा पूजासम्बन्धी विशेष कार्यमा संलग्न प्रहरी नायव निरीक्षक भवानी चन्द लाई पगरीसहित नगद पुरस्कार प्रदान गरिएको थियो भने प्रहरी हवल्दार राम कुमार कार्की लाई पनि नगद पुरस्कार दिइएको थियो।
कार्यक्रममा महानिरीक्षक कार्कीसहित प्रहरी अतिरिक्त महानिरीक्षक, नायव महानिरीक्षक, वरिष्ठ तथा अन्य अधिकृतहरूको सहभागिता रहेको थियो। पूजा विसर्जनपछि मुख्य निशान मूलकोत हनुमान ढोका तर्फ लगिएको थियो र पुजारीबाट टीका तथा प्रसाद वितरण गरिएको थियो।
नेपाल प्रहरीले प्रयोग गर्ने निशान नेपाली सेनाको रामदल पल्टनबाट प्राप्त भएको हो। मुख्य निशानमा सूर्य र चन्द्रबीच राम धनुषको चिन्ह अंकित छ भने सहायक निशानमा सूर्य र चन्द्रका प्रतीक देखिन्छन्। यस निशान झण्डालाई राष्ट्र तथा नागरिकको शान्ति सुरक्षा कायम राख्ने कार्यमा सफलता प्राप्तिको प्रतीकका रूपमा पूजा गर्ने गरिन्छ।
नेपाल प्रहरीले विक्रम संवत् २०११ सालदेखि निशान झण्डा प्राप्त गरेपछि हरेक वर्ष वडा दसैँ र चैते दसैँमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ।