काठमाडौं- नेपाली कांग्रेसले पार्टीको पछिल्लो बैठकका निर्णयहरू र समसामयिक राजनीतिक विषयमा जानकारी दिन आज बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेको छ।
हिजो चैत्र ११ गते पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगरमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गर्न यो कार्यक्रम आह्वान गरिएको हो।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पत्रकार सम्मेलन आज दिनको ४ः ३० बजे केन्द्रीय कार्यालयमै आयोजना हुनेछ।
बैठकमा पार्टीको आन्तरिक संगठन, आगामी कार्ययोजना र देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल भएको बताइएको छ।
कांग्रेसले ती छलफलका निष्कर्ष र पार्टीको आधिकारिक धारणा सञ्चारमाध्यममार्फत जनतामाझ लैजान लागेको हो।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले सबै छापा, अनलाइन, रेडियो तथा टेलिभिजनका समाचार संकलन, प्रकाशन एवं प्रसारणका लागि पत्रकारहरूलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरेको छ।