काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) शुक्रबार प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ लिन लाग्दा, सिंहदरबारमा उनका लागि आवश्यक कार्यकक्ष तयार गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जेन जेड आन्दोलनको समयमा क्षतिग्रस्त भएसँगै हाल गृह मन्त्रालयको भवनबाट सञ्चालन भइरहेको छ। त्यसैक्रममा भवनको पहिलो तल्लामा प्रधानमन्त्रीका लागि कार्यकक्ष, मन्त्रिपरिषद् बैठक कक्ष र भेटघाट कक्ष व्यवस्थित गरिएको छ।
प्रधानमन्त्रीको दैनिक कार्य सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्था मिलाइए साथै कार्यकक्षको आन्तरिक संरचना र कुर्सी-टेबलको व्यवस्थापन वास्तु अनुसार गरिएको छ। साहका निकट सल्लाहकारहरूले कार्यालयको वस्तुस्थिति अवलोकन गरी आवश्यक सुधारका सल्लाह दिएका थिए, जसअनुसार कार्यस्थलको व्यवस्थापन पूरा भएको छ।
साहले पदभार ग्रहण गरेसँगै प्रधानमन्त्री सचिवालय पनि सक्रिय हुने तयारीमा रहेको छ। आधा दर्जन सल्लाहकारको टोली दैनिक कार्यालयमै बसेर काम गर्नेछ। उक्त टोलीका लागि आवश्यक कार्यस्थल, सवारी साधन र अन्य व्यवस्थापकीय पक्ष मिलाउने काम प्रशासनिक संयन्त्रमार्फत भइरहेको छ।
शपथग्रहण समारोह शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटमा तय भएको छ। समारोहलाई धार्मिक र सांस्कृतिक रूपमा विशेष बनाउन ७ जना ब्राह्मणले शंखनाद, १०८ जना बटुकले स्वस्ति वाचन, र १०७ जना बौद्ध लामा गुरुले मंगल वाचन गर्ने तयारी गरिएको छ।