चितवन । पर्यटकीय नगरी सौराहामा २० औँ संस्करणको ‘फुड फेस्टिबल’ यही चैत १२, १३ र १४ गते आयोजना हुने भएको छ ।
रेष्टुराँ एण्ड बार एसोसिएसन नेपाल (रेवान) सौराहाले महोत्सवको तयारी अन्तिम चरणमा पुर्याइएको जानकारी दिएको छ । सौराहाको गैँडाचोकस्थित छत्री स्ट्रिटमा महोत्सव आयोजना गर्न लागिएको रेवानका महासचिव नवीन नेपालले जानकारी दिए ।
‘प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको फेस्टिबलले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । यसअघि प्रणय दिवसका अवसरमा आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम निर्वाचन गतिविधिका कारण स्थगित गरिएको थियो । सुरक्षा, सहभागिता र व्यवस्थापनमा असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नयाँ मिति तय गरिएको महोत्सवका संयोजक कृष्णप्रसाद खतिवडाले बताए।
उन्नाइस वर्षदेखि निरन्तर आयोजना हुँदै आएको सौराहा फुड फेस्टिबलले चितवनको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । यस वर्षको संस्करणले सुस्ताएको पर्यटन व्यवसायलाई पुनः चलायमान बनाउने र स्थानीय व्यवसायी तथा समुदायमा नयाँ उत्साह थप्ने विश्वास लिइएको छ ।
महोत्सवका प्रमुख आकर्षणहरूमा बहुजातीय झाँकी प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साङ्गीतिक कार्यक्रम, स्थानीय तथा जनजातीय खानाको प्रदर्शनी तथा प्रतियोगिता, साथै ‘वेटर–वेट्रेस’ प्रतियोगिता रहने संयोजक खतिवडाले जानकारी दिए।
महोत्सवका लागि रु ६० लाख खर्च हुने अनुमान गरिएको छ भने महोत्सव अवधिमा करिब रु एक करोड कारोबार हुने अपेक्षा गरिएको छ । दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।