काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा वैदेशिक रोजगारीका लागि बिदेसिने नेपालीको संख्या उल्लेख्य रूपमा वृद्धि भएको देखिएको छ।
साउनदेखि फागुन मसान्तसम्मको अवधिमा कुल ५ लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा रोजगारीका लागि प्रस्थान गरेका छन्।
राष्ट्रिय तथ्यांक अनुसार उक्त अवधिमा ५ लाख २५ हजार ५ सय १३ जनाले वैदेशिक रोजगारका लागि प्रस्थान गरेका हुन्। यसमध्ये पुरुषको संख्या ४ लाख ६२ हजार २ सय १७ र महिलाको संख्या ६३ हजार २ सय ९६ रहेको छ ।
मात्र फागुन महिनामा मात्रै ५२ हजार ९ सय ४३ जनाले श्रम स्वीकृति प्राप्त गरेका छन्, जसले महिनावार आधारमा पनि वैदेशिक रोजगारीप्रति चासो उच्च रहेको देखाउँछ।
श्रम स्वीकृतिको प्रकारलाई हेर्दा व्यक्तिगत प्रक्रियामार्फत ८१ हजार ९ सय ५८ जनाले स्वीकृति लिएका छन् भने म्यानपावर कम्पनीमार्फत संस्थागत रूपमा १ लाख ८५ हजार २ सय २० जनाले श्रम स्वीकृति प्राप्त गरेका छन्। पुनः श्रम स्वीकृति (नवीकरण) लिनेको संख्या सबैभन्दा बढी २ लाख ५१ हजार ९ सय ८३ पुगेको छ, जसले पहिले नै विदेशमा कार्यरत श्रमिकहरूको निरन्तरता पनि उच्च रहेको जनाउँछ।
त्यस्तै सरकारी संयन्त्रमार्फत सञ्चालन हुने जीटुजी (सरकार-सरकार) प्रक्रियाबाट दक्षिण कोरिया र इजरायलमा ५ हजार ९ सय ९८ जना नेपाली पुगेका छन्। यसका अतिरिक्त विभिन्न देशमा कागजविहीन रूपमा काम गर्दै आएका ३ सय ५४ जना श्रमिकलाई वैधानिकीकरण गरिएको विवरण पनि समेटिएको छ।