काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका उम्मेदवारको समर्थनमा अपेक्षित सक्रियता नदेखिएको विषय उठाउँदै नेतृत्व तहप्रति प्रश्न गरेका छन्।
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै उनले विशेष गरी वरिष्ठ नेतृत्वले आफ्नै निकट व्यक्तिहरू उम्मेदवार बनेका क्षेत्रमा समेत मत माग्न नगएको प्रसंग उल्लेख गरेका थिए।
उनले लामो समयदेखि एउटै क्षेत्रमा उम्मेदवार बन्दै आएका नेताहरूले त्यही क्षेत्रमा अन्य उम्मेदवारलाई सहयोग गर्नुपर्ने जिम्मेवारीबाट विमुख हुन नहुने धारणा व्यक्त गरे।
थापाले शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा उनी निकट नेता नैनसिंह महर उम्मेदवार हुँदा पनि अपेक्षित रूपमा चुनावी अभियानमा संलग्नता नदेखिएको विषय उल्लेख गरे।
साथै, उक्त सन्दर्भमा वरिष्ठ नेताहरूले आफ्नो भूमिकाबारे आत्ममूल्यांकन गर्नुपर्ने संकेत गर्दै उम्मेदवारको पक्षमा मत माग्नु नेतृत्वको कर्तव्यभित्र पर्ने कि नपर्ने भन्ने प्रश्नसमेत उठाएका छन्।