काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि पाँच वटा मुख्य कार्यसूची निर्धारण गरिएको छ। बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने तयारी गरिएको छ।
पार्टीका एक केन्द्रीय सदस्यका अनुसार बैठकमा समसामयिक संविधान संशोधनको अध्ययनका लागि विज्ञ समूह गठन, १५औँ महाधिवेशनको तयारी, उम्मेदवारहरूसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन प्रभावकारिता, साथै भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिसम्बन्धी विषयहरू समावेश गरिएका छन्।
बैठकमा पार्टी सभापति गगनकुमार थापा सहभागी हुने कार्यक्रम छ। प्रतिनिधिसभा निर्वाचनपछिको यो पहिलो केन्द्रीय कार्यसमिति बैठकमा उनको उपस्थिति हुन लागेको हो।
यसअघि प्रारम्भ भएको बैठकमा उनी अनुपस्थित रहेका थिए। त्यस अवधिमा सम्पन्न बैठकले उनले पेश गरेको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको थियो। निर्वाचन परिणामपछि आएको दबाबका बीच अस्वीकार गरिएको उक्त राजीनामापछि सभापति थापाले पुनः कार्यसमिति बैठक आह्वान गरेका हुन्।