काठमाडौँ । भदौ २३ र २४ मा घटेका घटनासम्बन्धी गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै विद्यार्थीहरूले राजधानीमा प्रदर्शन गरेका छन्।
मंगलबार त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा घण्टाघर क्षेत्रमा आयोजित विरोध कार्यक्रममा प्रतिवेदन सार्वजनिक गरी दोषीमाथि आवश्यक कारबाही अघि बढाउनुपर्ने माग गरिएको थियो।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले हस्ताक्षर संकलनसमेत गर्दै घटनामा ज्यान गुमाएका र घाइते भएका व्यक्तिहरूलाई न्याय सुनिश्चित गर्न प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्ने धारणा व्यक्त गरेका थिए। विभिन्न नारासहितका प्लेकार्डमार्फत प्रतिवेदन सार्वजनिक नगरेकोप्रति असन्तुष्टि जनाइएको थियो।
आन्दोलनका संयोजक पक्षले प्रतिवेदन सार्वजनिक नभए थप कडा कदम चाल्ने चेतावनी दिएका छन्।
उक्त घटनाको अध्ययनका लागि गठन गरिएको आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। सरकारबाट अध्ययनका लागि स्वीकृत भए पनि हालसम्म सार्वजनिक नभएकाले प्रतिवेदन अलपत्र पर्न सक्ने आशंका विद्यार्थीहरूले व्यक्त गरेका छन्।