काठमाडौँ-नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन अझै सार्वजनिक नभएको भन्दै अन्तरिम सरकारप्रति असन्तुष्टि जनाएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पौडेलले प्रतिवेदन सार्वजनिक नगर्दा विभिन्न आशंका र उपशंका जन्मिएको बताएका छन्। उनका अनुसार आयोगले आफ्नो प्रतिवेदन बुझाइसके पनि सरकारले त्यसलाई सार्वजनिक नगर्नुले प्रश्नहरू खडा गरेको छ।
उनले ‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न के कुराले रोकिरहेको छ?’ भन्ने प्रश्न उठाउँदै सरकारलाई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन्। साथै, अन्तरिम सरकारको कार्यकाल सकिन लाग्दा पनि प्रतिवेदन सार्वजनिक नगर्नु जिम्मेवारीबाट पन्छिन खोजेको संकेत भएको उनको भनाइ छ।
पौडेलले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले समेत प्रतिवेदन सार्वजनिक गर्न माग गरिसकेको स्मरण गराउँदै सरकारलाई छिटोभन्दा छिटो प्रतिवेदन सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्न अनुरोध गरेका छन्।