काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय, काठमाडौँ रानीपोखरीका प्रमुख एआईजी ईश्वर कार्कीले सिंहदरबार क्षेत्रस्थित निर्माणाधीन संघीय संसद् भवनको सुरक्षा अवस्थाबारे स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा एआईजी कार्कीसँगै प्रहरीका वरिष्ठ अधिकृतहरू तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी समेत सहभागी भएका थिए। टोलीले अस्थायी रूपमा तयार पारिएको बहुउद्देश्यीय हलको अवलोकन गर्दै आगामी कार्यक्रमका लागि सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएको छ।
त्यसैगरी, टोलीले भवन परिसरभित्र रहेको केन्द्रीय लबी र प्रतिनिधिसभा कक्ष निर्माण भइरहेको स्थानको समेत अवलोकन गरेको छ। निर्माण कार्यको प्रगति, सम्भावित जोखिम तथा सुरक्षा चुनौतीका विषयमा पनि जानकारी लिइएको बताइएको छ।
निरीक्षणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै एआईजी कार्कीले भवनको सुरक्षा व्यवस्था, यातायात व्यवस्थापन तथा समग्र निर्माण प्रगतिबारे जानकारी लिइएको उल्लेख गरे।
यसैबीच, फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण कार्यक्रम १२ चैतमा सोही बहुउद्देश्यीय हलमा अस्थायी रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ। बानेश्वर संसद् भवन आगजनीबाट प्रभावित भएको र नयाँ निर्माणाधीन भवन अझै पूर्ण रूपमा तयार नभएकाले संसद् सचिवालयले उक्त हललाई वैकल्पिक स्थलका रूपमा उपयोग गर्ने व्यवस्था मिलाएको हो।