काठमाडौँ । रामसहायप्रसाद यादवले पानीको संरक्षण र यसको समुचित उपयोग सबैको साझा जिम्मेवारी भएको बताएका छन्। उनले पानीको न्यायपूर्ण वितरण र सबैका लागि पहुँच सुनिश्चित गर्न राज्यका नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।
विश्व पानी दिवस २०२६का अवसरमा दिएको सन्देशमा उपराष्ट्रपति यादवले पानीलाई जीवनको आधारका रूपमा उल्लेख गर्दै यसको संरक्षणमा सबै पक्ष एकजुट हुन आवश्यक रहेको बताए।
उनका अनुसार हाल विश्व नै पानी संकटको गम्भीर चुनौतीसँग जुधिरहेको छ। जलवायु परिवर्तनका कारण हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् भने भूमिगत पानीको सतह घट्दो अवस्थामा छ। विशेषगरी तराई–मधेस क्षेत्रमा यो समस्या झन् गम्भीर बन्दै गएको र पहाडी क्षेत्रमा रहेका झरना तथा प्राकृतिक स्रोतहरू सुक्दै गएको उनले उल्लेख गरेका छन्। साथै, प्रदूषण, अव्यवस्थित पूर्वाधार र कमजोर व्यवस्थापनका कारण जलाशयहरूको क्षमता पनि घट्दै गएको उनको भनाइ छ।
उपराष्ट्रपति यादवले यी चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्न सामूहिक प्रयास आवश्यक रहेको बताउँदै पानीको संरक्षण केवल वातावरणीय विषय नभई राष्ट्रिय अस्तित्व र भविष्यसँग जोडिएको विषय भएको धारणा राखे।
नेपाल जलस्रोतमा धनी देश भए पनि यसको प्रभावकारी उपयोग र संरक्षणमा अझै कमजोरी रहेको औँल्याउँदै उनले नदी, ताल, झरना तथा भूमिगत जलस्रोतको दीर्घकालीन संरक्षणका लागि वैज्ञानिक दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए। साथै, स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्दै आधुनिक प्रविधिको प्रयोगमार्फत पानीको भण्डारण, पुनःप्रयोग र शुद्धीकरणमा ध्यान दिनुपर्ने उनले बताएका छन्।
सन्देशमा उनले विश्व पानी दिवसले पानीको संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा राख्न, भावी पुस्ताका लागि स्वच्छ र सुरक्षित पानी सुनिश्चित गर्न, सामाजिक समानता प्रवर्द्धन गर्न तथा हिमनदी, आद्रभूमि र प्राकृतिक स्रोतहरूको संरक्षणलाई सामूहिक अभियानका रूपमा अघि बढाउन प्रेरणा मिलोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्। साथै, पानी व्यवस्थापनमा महिलाको भूमिकालाई मान्यता दिनुपर्नेमा पनि उनले जोड दिएका छन्।