काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव ले ‘ईद उल फित्र’ पर्वको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी तथा नेपाली नागरिकलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा उनले यस पर्वले सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। साथै, यसले राष्ट्रिय जीवनमा एकता, सद्भाव र सहअस्तित्वको भावना विस्तार गर्दै सबै नेपालीलाई साझा यात्रामा अघि बढ्न प्रेरित गर्ने अपेक्षा पनि उनले राखेका छन्।
उपराष्ट्रपति यादवले ईद उल फित्रले राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धतालाई अझ सुदृढ बनाउने अवसर प्रदान गर्ने उल्लेख गरेका छन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्न, राष्ट्रिय अखण्डता तथा पहिचानलाई बलियो बनाउन र विविधता तथा सहअस्तित्वलाई स्थायी शान्ति र समृद्धिको आधार बनाउने दिशामा यस पर्वले योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
रोजाको अनुशासन, आत्मसंयम र श्रद्धापूर्वक गरिएको नमाजपछि मनाइने ईद उल फित्र आत्मिक शुद्धता र आध्यात्मिक उन्नतिको प्रतीकका रूपमा लिइन्छ। यस पर्वले मानिसलाई संयम, धैर्य र आत्मनियन्त्रणको महत्त्व सिकाउने सन्देश दिने गर्दछ।