काठमाडौँ — नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ। केही समयअघि प्रारम्भ भएको बैठकमा वर्तमान राजनीतिक परिस्थितिसँग सम्बन्धित दुई प्रमुख विषयमा छलफल केन्द्रित हुने जनाइएको छ।
बैठकको मुख्य एजेन्डाअन्तर्गत हालै सम्पन्न निर्वाचनको प्रारम्भिक समीक्षा गर्ने तथा पार्टीभित्र देखिएका नेतृत्वसम्बन्धी विषयमा गहन छलफल गर्ने तयारी गरिएको छ। विशेषगरी सभापति पदसँग जोडिएको राजीनामाको विषय पनि बैठकमा उठ्ने बताइएको छ।
सभापति गगन थापाले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मामार्फत बुझाइसकेका छन्। तर, सो महत्वपूर्ण बैठकमा सभापति थापा भने स्वयं उपस्थित नरहेको जानकारी दिइएको छ।
पार्टीका शीर्ष नेतृत्व र केन्द्रीय सदस्यहरूको सहभागितामा जारी बैठकले निर्वाचनपछिको समग्र अवस्थाको समीक्षा गर्दै आगामी रणनीति तथा संगठनात्मक दिशाबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।