काठमाडौँ । रवि लामिछानेसँग सम्बन्धित अभियोग संशोधन मुद्दामा सर्वोच्च अदालतले सुनुवाइ स्थगित गरेको छ। लगातार चार दिनसम्म बहस सम्पन्न भएपछि अदालतले आवश्यक कागजात झिकाउन आदेश दिँदै अर्को मिति तोकेको हो।
शारङगा सुवेदी र सुनिल पोखरेलको संयुक्त इजलासले सबिता भण्डारीबाट माघ २ गते जारी गरिएको टिप्पणी आदेशको प्रतिलिपि पेश गर्न निर्देशन दिएको छ। सो कागजात प्राप्त भएपछि मात्र मुद्दाको थप सुनुवाइ अघि बढ्ने अदालतले जनाएको छ।
उक्त प्रकरणमा महान्यायाधिवक्ता भण्डारीले सुरुमा रवि लामिछानेका लागि मात्र अभियोग संशोधन स्वीकृत गरेकी थिइन्। तर पछि सो निर्णय संशोधन गर्दै अन्य अभियुक्तहरूको हकमा पनि स्वीकृति दिएको जानकारी सार्वजनिक भएको छ।
अदालतले मुद्दालाई आगामी चैत ९ गतेका लागि पेशी तोकेको छ। साथै, निष्पक्षता कायम राख्न ‘हेर्न नमिल्ने’ न्यायाधीश समावेश नभएको इजलासमा मुद्दा पेश गर्न पनि निर्देशन दिइएको छ।